विश्व

बर्मामा आन्दोलन जारी

आन्दोलनरत नागरिकमाथि सेना समर्थकको आक्रमण

इकागज |
फागुन १४, २०७७ शुक्रबार १४:२४ बजे

काठमाडौँ  : फेब्रुअरी १ मा सेनाले सत्ता हातमा लिएपछि बर्मामा आन्दोलन जारी छ । लोकतन्त्र पुर्नस्थपनाको माग राखेर हजारौँ बर्मेली दिनहुँ सडकमा आइरहेका छन् । यागुंन लगायतका प्रमुख सहरहरूमा भइरहेका ‘कू’ विरोधी आन्दोलनमा सहभागी हुनेको संख्या बढ्दो छ ।  

बिहीबार पनि आन्दोलनलाई निरन्तरता दिन यागुंन सहरको मुख्य भागमा हजारौँ नागरिक जम्मा हुँदै थिए । त्यसैबीचमा त्यस स्थानमा सैन्य शासनको समर्थन गर्नेहरू पनि जम्मा भए । करिब एक हजारको संख्यामा रहेका सेना समर्थक र आन्दोलनमा सहभागी हुन आएका बर्मेली नागरिकबीच झडप भयो । झडप गर्ने मनसाय बोकेर आएका सेना समर्थकहरू घरेलु हतियारले सु-सज्जित भएको बीबीसीले आफ्नो रिपार्टमा उल्लेख गरेको छ । उनीहरूको हातमा चक्कु, पाइप, ढुङ्गा लगायतका सामाग्री रहेको बीबीसीले जनाएको छ । 


अर्को अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले आफ्नो स्थानिय संवाददातालाई उद्धृत गर्दै झडपका बारेमा लेखेको छ, ‘सेनाको समर्थन गर्ने एक समूहले सहरको मध्य भागमा एक निहत्था माथि आक्रमण गर्‍यो । आक्रमणमा पर्ने ती पुरुषको स्वास्थ्य अवस्थाका बारेमा सूचना दिइएको छैन,’ यागुंनमा बिहीबार दिनभरी भएको झडपमा परी तीन प्रदर्शनकारी र एक प्रहरी मारिएको बताइएको छ । 

सेनाले ‘कू’ गरेपछि निर्वाचित बमेर्ली सरकारकी प्रमुख आङ साङ सुकीलाई नजरबन्दमा राखिँदै आइएको छ । सेनाले उनी माथि लगाएको आरोप हो- गैर कानुनी रूपमा वाकी-टक्की राखेको भन्ने । सूकी माथि नोभेम्बरको निर्वाचनमा धाँधली गरेको आरोप पनि छ । आन्दोलनरत बर्मेली नागरिकले भने सेनाले सूकी माथि लगाएको आरोपको विरोध गर्दै उनलाई तुरुन्त रिहा गर्न माग गरिररहेका छन् । 

बर्मेली नागरिकले सडक संघर्षलाई निरन्तरता दिइरहँदा, त्यहाँको सैन्य सरकारमाथि विदेशी प्रतिबन्ध लाग्ने क्रम जारी छ । सामाजिक सञ्जाल फेसबुकले बर्मेली सैन्य नेतृत्वविरुद्ध कदम चालेको छ । अमेरिकी कम्पनी फेसबुकले बिहीबार मात्रै बर्मेली सैन्य नेतृत्वमा रहेका र उनीहरूलाई सहयोग गर्नेलाई आफ्नो प्लाटफर्म प्रयोग गर्नबाट बन्देज लगाएको छ । सत्ता हातमा लिएपछि बर्मेली सेनाले इन्टरनेट र फेसबुक प्रयोगमा प्रतिबन्ध लगाउँदै आएको छ । त्यती मात्रै होइन, आन्दोलन मत्थर पार्न नागरिकलाई क्रमशः बल प्रयोग गर्ने भन्दै धम्काउँदै आएको छ । तर पनि आन्दोलन भने जारी नै छ ।  


Author

थप समाचार
x