विश्व

कोरोनाले कोलम्बियामा स्वास्थ्य संकटकालको म्याद फेरि थप

इकागज |
फागुन १५, २०७७ शनिबार ६:३३ बजे

बोगोटा : कोलम्बियामा स्वास्थ्य संकटकालको म्याद फेरि थप गरिएको छ ।

राष्ट्रपति इभान डुकले फेरि संकटकालको म्याद थप्‍ने निर्णय भएको शुक्रबार जानकारी दिए । कोरोनाभाइरसको महामारी अझै नियन्त्रणमा नआएकोले देशव्यापी संकटकालको अवधि फेरि बढाउनु परेको उनको भनाइ छ ।


कोलम्बियामा झण्डै तीन महिनादेखि स्वास्थ्य संकटकाल लागू भएको हो । 'यसअघि लगाइदै आएको स्वास्थ्य संकटकालको अवधि यही फेब्रुअरी २८ मा सकिँदैछ, तर आज नै हामीले त्यसको म्याद पुनः थप्‍ने निर्णय गरेका छौँ,' डुकले भने ।  

संकटकालको म्याद फेरि थपिएको जानकारी अहिले नै दिनु उपयुक्त लागेको उनले बताए । स्वास्थ्य मन्त्री फर्नान्डो रुइजसहितको विज्ञ तथा सरोकारवालाहरुको टोलीले गरेको अध्ययन, छलफल र परामर्शका आधारमा सरकारले संकटकाल लम्ब्याउने निर्णय गरेको उनले स्पष्ट पारे ।

अहिले थप गरिएको संकटकालको अवधि आगामी मे ३१ सम्म कायम रहने राष्ट्रपति डुकुले जानकारी दिए ।  

कोलम्बियामा पछिल्लो २४ घण्टामा तीन हजार ६८३ जना नयाँ सङ्क्रमित थपिएका छन् भने देशभरी अहिलेसम्म कुल २२ लाख ४१ हजार २२५ जना सङ्क्रमित भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसैगरी कोरोनाका कारण अहिलेसम्म मृत्यु भएकाहरूको कुल सङ्ख्या ५९ हजार ३९६ पुगेको पनि मन्त्रालयको तथ्याङ्क छ । (सिन्ह्वा)


Author

थप समाचार
x