विश्व

हाइटीको जेलबाट कैदी भाग्‍न खोज्दा भएको झडपमा २५ को मृत्यु

इकागज |
फागुन १५, २०७७ शनिबार १६:३६ बजे

पोर्ट ओ प्रिन्स : हाइटीमा जेलबाट शुक्रबार २०० भन्दा बढी कैदी भागेका छन् । भाग्‍ने क्रममा भएको झडपमा परी कम्तीमा २५ जनाको मृत्यु पनि भएको छ । मृत्यु हुनेमा जेलका निर्देशकसमेत रहेको सञ्‍चार सचिव फ्रन्टज एक्सान्तुजले शनिबार जानकारी दिए । जेलमा झण्डै ४०० कैदी रहेका थिए । 

“घटनामा परी कम्तीमा २५ जनाको मृत्यु भएको छ । तीमध्ये छ जना कैदी नै रहेका छन् भने एक जना जेलका प्रमुख पौल हेक्टर जोसेफ रहेका छन्,” उनले भने । राजधानी पोर्ट ओ प्रिन्समा रहेको जेलमा भागाभाग हुँदा उनीहरूको मृत्यु भएको पनि उनले जानकारी दिए । मृत्यु हुनेमा केही सर्वसाधारण पनि रहेको उनले बताए । 


झण्डै दुई सय जना कैदी भने अझै पनि जेलमै छन् । उनीहरूलाई भाग्‍न नदिन प्रहरीले धेरै मेहनत गरेको सचिव एक्सान्तुजले बताए । जेलमा राखिएका केही कैदीलाई हतकडी लगाइएको र केहीलाई बाँधिएकोले पनि उनीहरू भाग्‍न नसकेको उनको भनाइ छ ।

मृत्यु हुनेमा एक जना समूह नाइके अर्नेल जोसेफ रहेका छन् । उनलाई प्रहरीले गोली प्रहार गरेर हत्या गरेको अधिकारीहरूले जनाएका छन् ।  सुरक्षा कारबाहीका क्रममा उनको मृत्यु भएको प्रहरी अधिकारीहरूले पनि स्विकार गरेका छन् । हाइटीमा जेल तोडफोड हुने र कैदीहरू भाग्‍ने तथा उनीहरूको मृत्यु हुने घटना बेला बेलामा हुने गरेका छन् । रासस
 


Author

थप समाचार
x