विश्व

नाइजेरियामा विद्यालयबाट अपहरित विद्यार्थीसहित ४२ रिहा

इकागज |
फागुन १५, २०७७ शनिवार २०:२६ बजे

लागोस  : नाइजेरियाको एक विद्यालयबाट गत हप्ता अपहरण गरी लगेका २७ बालबालिकासहित ४२ जना अपहरणको १० दिनपछि मुक्त भएका छन् । नाइजेरियाकै एक अर्को विद्यालयबाट करिब ३०० किशोरी (छात्रा)हरूलाई अपहरण गरेको एक दिनपछि १० दिन पहिले सशस्त्र समूहले अपहरण गरी लगेका ४२ जनालाई रिहा गरिएको हो ।  

सरकारको पहलमा शनिबार मुक्त भएका विद्यार्थीहरूलाई नाइजर राज्यको प्रशासनले आफन्तको जिम्मा लगाएको गभर्नर अबुबाकर सानी बेलोले ट्वीटरमार्फत् जानकारी गराएका छन् । नाइजेरियाको उत्तरपश्‍चिम  क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार अपहरणमा परेका ३१७ विद्यार्थीको खोजी भइरहेको प्रहरी प्रवक्ता मोहम्मद सेहुले एक विज्ञप्ति जारी गरी जानकारी दिएका छन् ।  


उनले भने, “सशस्त्र समूहले बिहीबार राति एक विद्यालयलाई नियन्त्रणमा लिई कम्तीमा ३१७ छात्राहरूलाई अपहरण गरेको छ । विद्यार्थीहरूलाई सम्पर्कमा ल्याउन सुरक्षा अधिकारीले पहल जारी राखेका छन् । जाम्फारा राज्यको प्रहरी कमाण्डले सेनाको समन्वयमा संयुक्तरूपमा खोजी तथा उद्धार कार्यलाई अघि बढाएको छ ।”

स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्‍चिम क्षेत्रको विज्ञान विषय पढाई हुने विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका हुन् । पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्‍ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्‍चारमाध्यममा आएका छन् । (रासस)
 


Author

थप समाचार
x