विश्व

शक्ति राष्ट्रको भू-राजनीति

व्यवधानरहित हुन नसक्ने अमेरिका-भारत सम्बन्ध

इकागज |
फागुन १७, २०७७ सोमबार ६:१२ बजे

काठमाडौँ : दक्षिण पूर्वी एसियामा अमेरिकाको गठबन्धन खतरामा पर्दै गएको छ । दक्षिण एसियामा भने अमेरिकासँग बलियो गठबन्धन बनाउने मौका छ । यसको कारण भारत हो । दक्षिण एसियामा मात्रै होइन, विश्व राजनीतिमा पनि उल्लेख्य भूमिका निर्वाह गर्ने हैसियतमा रहेको भारत, अमेरिकाको भरपर्दो मित्र हो । शित युद्वताका तटस्थ रहन प्रयास गरेको भारत अहिले भने अमेरिकासँग सहकार्य गर्न इच्छुक देखिएको छ ।

तर अमेरिका र भारतको सम्बन्ध अपेक्षाकृत ढङ्गले अघि बढ्छ भन्ने छैन । किनभने यी दुई मुलुकको सम्बन्धले धेरै ब्यवधान सामना गर्नेछ । परिवर्तनशिल अन्तराष्ट्रिय राजनीतिक सेरोफेरोमा । यस्तो अवस्थामा अमेरिकाले भारतसँगको सम्बन्धबाट गर्ने अपेक्षा कमगर्नुपर्ने हुन्छ । अथवा धैर्यता राख्नुपर्ने हुन्छ । 


वासिङ्टनमा रहने नीति निर्माताहरु भारतसँगको रणनीतिक साझेदारीले अन्तराष्ट्रिय राजनीतिमा कुन स्तरको प्रभाव पार्न सक्छ भन्नेमा प्रष्ट छन् । अमेरिका र चीन धेरै मोर्चामा आमने सामने भइरहँदा भारतको भू-राजनीतिक महत्व क्रमशः बढिरहेको यर्थाथबाट उनीहरु टाढा छैनन् ।

भारत त्यसै पनि विश्वको सबैभन्दा ठूलो लोकतन्त्र हो । त्यसकारण, अमेरिका र चीन वैचारिक द्वन्द्वमा फसेको अवस्थामा भारत लोकतान्त्रिक ध्रुबको सदस्य हुनुको महत्व छ । दक्षिण एसिया र हिन्द महासागरमा चीनको उपस्थिती आक्रमक बन्दै गइरहँदा अमेरिकाको चाहना बलियो भारत भएको पनि लुकेको छैन । त्यसैले पनि, चीनकै आक्रामकतालाई नियन्त्रण गर्ने अभिप्रायले गठन गरिएको क्वाडमा भारतको सक्रिय भूमिकाको माग बढिरेहेको हो ।

भारत, नवप्रवर्तन र बजारका हिसाबले पनि अमेरिका लगायतका लोकतान्त्रिक मुलुकका लागि महत्वपूर्ण साझेदार हो । चिनियाँ फाइभ जी र उसका अन्य प्राविधिक कम्पनीहरुको बजार विस्तारमा अवरोध पुर्‍याउन पनि भारतको साथ अमेरिकाले खोजेकै छ । 

उता भारतका लागि पनि अमेरिकासँगको सहकार्य बाध्यतामा परिणतहुँदै गएको छ । पछिल्ला वर्षमा चीनसँग सीमा लगायतका विषयमा विवाद बढ्दै जाँदा भारतलाई अमेरिकाको साथ महत्वपूर्ण लाग्‍न थालेको छ । कुनै बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चीनसँगको सम्बन्ध नयाँ युगमा प्रवेश गरेको अभिब्यक्ति दिएका थिए । भू-राजनीतिमा देखिएको परिवर्तन र एसियाका दुई शक्ति बीचको पछिल्लो टकराबले प्रधानमन्त्री मोदीको अभिब्यक्तिलाई गलत साबित गरिदिएको छ । 

गत जुनमा भएको सीमा झडपले पनि भारतलाई थप सशंकित गराएको छ । श्रीलंका, पाकिस्तान लगायतका छिमेकी मुलुकमा चीनले बढाएको अर्थिक सक्रियताले भारतलाई झसङ्ग बनाएको हो । 'बेल्ट एण्ड रोड इनिसिएटिभ' अन्तर्गत विभिन्न बन्दरगाहामा चीनले बढाएको उपस्थितीको सामरिक महत्व भारतले नबुझेको अवस्था पनि होइन । झन् पछिल्लो पटक चीनबाट बर्मामा भएको सैन्य कू लाई अप्रत्यक्ष समर्थन प्राप्त भएपछि भारत झसङ्ग हुनु स्वभाविक हो । 

बिर्सन नहुने सामान्य तर महत्वपूर्ण तथ्य के हो भने, अधिनायकवादमा विश्वास गर्ने छिमेकी आफ्नो क्षेत्रमा शक्तिशाली बन्दै गएपछि भारतले लोकतान्त्रिक ध्रुवबाट सहयोगको अपेक्षा गर्छ । सन् २०१६ मा मोदीको अभिब्यक्तिले पनि यस बारेमा प्रष्ट पारेको छ । मोदीले भनेका थिए, ‘भारत अघि बढ्न चाहेको क्षेत्रमा अवश्य पनि अमेरिकासँगको सहकार्य चाहन्छ,’ ।  

भारतीय प्रधानमन्त्रीबाट आउने यस्तो अभिब्यक्तिले निश्चय पनिअमेरिकी नीति निर्मातालाई उत्साहित बनाउने नै भयो । सन् १९९० को दशक देखि नै अमेरिकाका हरेक प्रशासनले भारतसँग बलियो सहकार्य चाहेको तथ्य लुकेको छैन । जर्ज डब्लु बुसले भारतसँग आणविकसम्बन्धि सन्धी गरेर होस वा बराक ओबामाले हतियार आपूर्ति बढाएर, अमेरिकाले भारतसँगको सम्बन्धलाई न्यानो बनाउन खाजेकै हो । अझ डोनाल्ड ट्रम्प राष्ट्रपति बनेर आएपछि, उनको र भारतीय प्रधानमन्त्रीबीचको सम्बन्धले प्रशस्त चर्चा पायो ।   

चीनसँगको सीमामा भएको झडपले भारतलाई उत्तरी छिमेकी विरुद्ध कडारुपमा प्रस्तुत हुन प्रेरित गरेको छ । त्यसकै नतिजा रुवरुप भारतले क्वाडमा आफ्नो भूमिकालाई सशक्त बनाउने उदेश्य बनायो भने मालावर सैन्य अभ्यासमा सहभागी बन्न अस्ट्रेलियालाई निम्तो दियो । त्यसैबखत अमेरिकी उप विदेश मन्त्री स्टिभ बाइगुनले क्वाड नाटो जस्तै बन्न सक्छ भनेर दिएको अभिव्यक्ति सम्झन लायकको छ । 

तर के क्वाड नाटो जस्तै संन्य गठबन्धनमा परिणत हुने सम्भावना छ ? छैन । किनभने भारतका लागि चीनसँगको सम्बन्ध महत्वपूर्ण छ । सीमा जोडिएकाले मात्रै होइन । भारतले असंलग्नताको महत्वलाई पूर्णरुपमा नर्बिसिसकेकाले पनि । हो, मोदी सरकार अमेरिकासँग घनिष्ठ सम्बन्ध राख्न चाहान्छ । तर चीनलाई संशकित नबनाई । त्यसकारण, अमेरिकाले भारतलाई आफ्नो गठबन्धनको सदस्य बन्न दबाब दिनु एसियाको तेस्रो ठूलो अर्थतन्त्रसँगको सम्बन्धमा व्यवधान ल्याउनु हो । 

अमेरिका र भारतको सम्बन्धमा थप जटिलता छन् । भारत अमेरिकासँग नजिकहुँदै गर्दा, रुससँग हतियार तथा अन्य सन्य सामाग्री पनि खरिद गर्न छाडेको छैन । भारतले पछिल्लो पटक रुसबाट एस-४०० ‘एयर डिफेन्स सिस्टम’ खरिद गरेको छ । जसका कारण अमेरिकाले भारतमाथि प्रतिबन्ध घोषणा गर्ने सम्भावना छ । यस्तोमा अमेरिकाको भारतलाई उपयोग गरी चीनमाथि दबाब सिर्जना गर्ने नीति सफल हुने छैन ।  

अमेरिका र भारतको सम्बन्धमा देखिएको अर्को जटिलता भनेको भारतीयजनता पार्टी (भाजपा) को राजनीतिक मूल्य मान्यता पनि हो । जसले भारतको उदारवादी छविलाई धमिलो बनाउने काम गरेको छ । जम्मु-काश्मिर, नागरिकता सम्बन्धि नयाँ कानुन र बढ्दो धार्मिक हिंसाका कारण भारतको आलोचना अमेरिकी सञ्चार माध्यमले गरिरहेकै छन् । 

त्यसमा नागरिक अधिकार कुण्ठित पारेको र प्रेसमाथि नियन्त्रणको प्रयास गरिरहेको जस्ता आरोप त छदै छन् । मोदी सरकारको अनुदार नीतिले आफैमा अनुदार रहेका डोनाल्ड ट्रम्पलाई समेत अफ्ठ्यारोमा पार्‍यो । केही महिना अघि मात्रै ह्वाइट हाउस प्रवेश गरेका जो बाइडनले लोकतन्त्रलाई आफ्नो विदेश नीतिमा विशेष स्थान दिने हो भने, भारतसँगको सम्बन्धमा सैदान्तिक संघर्ष देखिने नै छ । 

त्यसकारण अमेरिकाले भारतसँगको सम्बन्धलाई सम्बोधन गर्न विशेष नीति बनाउन आवश्यक छ । हो, अमेरिकाले लोकतन्त्र र मानवअधिकार प्रतिको प्रतिबद्वतालाई छाड्न जरुरी छैन । तर भारतसँगको सम्बन्धमा यी विषयलाई चर्को रुपमा उठाउन जरुरी छैन । यदि अमेरिकाले एकल दलिय व्यवस्था भएको भियतनामसँग बलियो सम्बन्ध राख्न सक्छ भने बहुलबाद कमजोर नभइसकेको भारतसँग पनि नजिक रहनसक्छ । 

अमेरिकाले भारतसँग विभिन्न क्षेत्रमा सहकार्य गर्न सक्छ । ‘इन्टिलिजेन्स सम्बन्धि सूचना आदान प्रदान गर्ने देखि गरिब मुलुकहरुलाई कोभिड-१९ खोप वितरण सम्ममा । अनि, अमेरिकाले विभिन्न फोरमको प्रयोग गर्दै भारतसँगको सम्बन्धलाई बढावादिन आवश्यक छ ।

चीनको प्रभावलाई रोक्न क्वाड मार्फत भारतको उपयोग बाहेकका अन्य तरिका पनि अमेरिकाले अपनाउन सक्छ । जसमा प्रविधि विकासमा सहकार्यलाई पनि प्राथमिकतामा राख्न सकिन्छ । अमेरिकाले भारतलाई चीनसँगको सीमा विवादमा नदेखिने तरिकाले सघाउन सक्छ । सबै सहयोगको प्रचार गर्नुपर्छ भन्ने छैन । 

अमेरिका र भारतको सम्बन्ध प्रगतिशिल र गहिरो हुनु भनेको हिन्द महासागरमा चीनको प्रभाव कम गर्न बलियो कदम चाल्नु हो । त्यसले अमेरिका र चीनबीचको प्रतिद्वन्द्वीतामा अमेरिका बलियो बनाउँछ पनि ।

कुनै पनि सम्बन्धका आफ्नै सिमिततता हुन्छन् । अमेरिका र भारतबीचको सम्बन्धका पनि सिमितता छन् । यस्तोमा, सिमिततालाई स्विकार गर्दै अघि बढ्नु नै सम्बन्धलाई थप उचाईमा पुर्‍याउनु हो । (हाल ब्रान्ड्स, ब्लुमबर्गबाट) 

 


Author

थप समाचार
x