विश्व

म्यान्मार सैनिक कू : प्रदर्शनमा उत्रिएका ३८ जनाको मृत्यु

इकागज |
फागुन २०, २०७७ बिहीबार ९:३० बजे

म्यान्मारमा बुधवार सैनिक कूविरुद्ध प्रदर्शनमा उत्रिएका कम्तीमा ३८ जना मारिएका छन् । जसलाई संयुक्त राष्ट्रसङ्घले सेनाले सत्ता हातमा लिएयताकै 'रक्तपातपूर्ण' दिन भनेको छ । म्यान्मारका लागि राष्ट्रसङ्घीय दूत क्रिस्टिन श्नारन बूर्गनरले निकै भयावह दृश्य समेटिएका भिडिओ फूटेजहरू बाहिर आइरहेको बताइन् ।

बुधवारको घटनापछि ब्रिटेनले शुक्रवार राष्ट्रसङ्घीय सुरक्षा परिषद्को बैठकको माग गरेको छ भने अमेरिकाले म्यानमारको सेनाविरुद्ध थप कदम चाल्ने बताएको छ । सुरक्षा फौजले विभिन्‍न सहरहरूमा ठूलो सङ्ख्यामा भेला भएका प्रदर्शनकारीहरूमाथि गोली चलाएको बताइएको छ । गत माघ १९ गते सेनाले सत्ता हातमा लिएपछि म्यान्मारभरी सामूहिक प्रदर्शन र नागरिक अवज्ञा भइरहेका छन् ।


म्यान्मारका छिमेकीहरूले संयम अपनाउन आग्रह गरेको एक दिनपछि त्यस्तो घटना भएको छ । राष्ट्रसङ्घीय दूत बूर्गनरले सेनाले शासन सम्हालेयता कम्तीमा ५० जना मारिएको र कैयौँ घाइते तुल्याइएको बताइन् । उनका अनुसार एउटा भिडिओ क्लिपमा प्रहरीले निसशस्त्र स्वास्थ्य स्वयमसेवकको टोलीलाई पिटिरहेको देखिन्छ ।

त्यस्तै अर्कोमा सडकमा प्रदर्शनकारीमाथि गोली चलाइएको र सम्भवत: मारिएको देखिन्छ । 'म केही हतियारविज्ञहरूलाई आग्रह गर्छु र उनीहरूले पुष्टि गर्नसक्छन्, स्पष्ट छैन तर प्रहरीको हतियार नौ एमएमको सबमेशिनगन जस्तो देखिन्छ,' उनले भनिन् ।

सेभ द चिल्ड्रेनका अनुसार बुधवार मारिनेमा १४ र १७ वर्षका किशोर छन् । एकजना १९ वर्षीया युवती पनि मारिएको बताइएको छ ।

कूपछि नेत्री आङ सान सू ची सहित निर्वाचित सरकारका नेताहरूलाई हटाएर बन्दी बनाइएको छ । प्रदर्शनकारीहरूले उनीहरूको रिहाइ र सैनिक शासनको अन्त्यको माग गरिरहेका छन् । सेनाले नोभेम्बर महिनामा भएको चुनावमा धाँधली भएको भन्दै शक्ति हातमा लिएको छ । उक्त चुनावमा सू चीको दल न्याश्नल डेमोक्र्याटिक पार्टीले ठूलो जित हासिल गरेको थियो ।

सेनाले चुनावमा भएको भनिएको धाँधलीको प्रमाण भने दिएको छैन । उसले निर्वाचन आयोगमा हेरफेर गरेको छ र यही वर्ष ताजा चुनाव गराउने वाचा गरेको छ । अन्तर्राष्ट्रिय रूपमा बढ्दो निन्दाकाबीच सेनाले सडक प्रदर्शनविरुद्धको कदम बढाएको छ र बुधवार थुप्रै ठाउँहरूमा हिंसात्मक झडपहरू भएका छन् ।

सेनाले बाह्य प्रतिबन्धहरूको सामना गर्न तयार रहेको बताएको छ । राष्ट्रसङ्घीय दूत बूर्गनरले सैनिक जर्नेलहरूविरुद्ध कडा कदम उठाउन राष्ट्रसङ्घलाई आग्रह गरिन् । उनले म्यान्मार सेनाका उपप्रमुखसँगको कुराकानीमा दण्डनीय कदम उठाउने चेतावनी दिएकी थिइन् ।

न्यूयोर्कमा संवाददाताहरूसँग उनले भनिन्, 'हामी थौरै साथीहरूसँग हिड्न सक्नुपर्छ भन्‍ने जबाफ थियो ।' प्रत्यक्षदर्शीहरूले समाचार संस्था रोयटर्सलाई बताएका अनुसार सुरक्षा फौजले कैयौँ नगर र सहरहरूमा छोटो चेतावनीमै गोली चलाएको छ ।

मध्य म्यान्मारको मोनयूआको प्रदर्शनमा कम्तीमा चारजना गोली लागेर मारिएका छन् । स्थानीय पत्रकारले बताए अनुसार कम्तीमा ३० जना घाइते भएका छन् । थप मृत्यु याङ्गुन, मान्डले र मिइनजानमा भएको समाचारमा जनाइएको छ ।

मिइनजानस्थित एकजना स्वास्थ्य स्वयमेवकले समाचार संस्था एएफपीलाई बताएका अनुसार कम्तीमा १० जना घाइते भएका छन् । उनले भने, 'सुरक्षा फौजले अश्रुग्यास, रबरको गोली र गोली चलाएको थियो ।'

'उनीहरूले हामीमाथि पानीको फोहरा प्रहार गरेनन्, भिड तितरबितर पार्न कुनै चेतावनी पनि दिइएन, उनीहरूले एकैपटक बन्दुकबाट गोली चलाए,' एकजना प्रदर्शनकारीले रोयटर्सलाई भने । मान्डलेमा एकजना विद्यार्थी प्रदर्शनकारीले बीबीसीलाई बताएका अनुसार उनको घर नजिकै प्रदर्शनकारीहरू मारिएका छन् ।

'त्यस्तै बिहान १० देखि साढे १० को बीचमा प्रहरी र सेना त्यस क्षेत्रमा आए र सर्वसाधारणमाथि गोली चलाउन सुरु गरे, उनीहरूले कुनै चेतावनी दिएनन्,' उनले भनिन् । 'रबरको गोली पनि चलाए तर हिंसात्मक ढङ्गले नागरिकको हत्या गर्न गोली पनि चलाए ।'

सेनाले प्रदर्शनकारीहरू मारिएको भनिएको घटनाबारे टिप्पणी गरेको छैन । पछिल्लो हिंसा दक्षिण पूर्वी एशियाका छिमेकी देशहरूका विदेशमन्त्रीहरूसँगको बैठक लगत्तै भएको छ । उक्त समूहले संयम अपनाउन आग्रह गरेको थियो तर केही मन्त्रीहरूले मात्र नेत्री सू चीलाई रिहा गर्न सैनिक सरकारलाई दबाव दिएका थिए ।

आइतवारको हिंसामा १८ जना मारिएका थिए । निर्वाचित सरकार अपदस्थ गर्दै शक्ति हातमा लिएको म्यान्मारको सेनाले सङ्कटकाल घोषणा गरेको छ । पछिल्ला दिनहरूमा सुरक्षाकर्मी र प्रदर्शनकारीहरूबीच हिंसा बढ्दै गएको देखिन्छ । बीबीसी


Author

थप समाचार
x