विश्व

चीनले तिब्बतलाई दक्षिण एसियासँग जोड्ने कोरिडोर बनाउने

अजय अलौकिक |
फागुन २२, २०७७ शनिवार २०:२७ बजे

बेइजिङः चीनको राजधानी बेइजिङमा दुई महत्त्वपूर्ण अधिवेशन जारी छन् । मार्च ५ शुक्रबारबाट सुरू भएको तेह्रौं चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको चौथो अधिवेशनको उद्घाटन समारोहमा चिनियाँ प्रधानमन्त्री ली खछ्याङले सरकारको तर्फबाट कार्य प्रतिवेदन प्रस्तुत गरेका छन् ।
 
सो क्रममा पछिल्लो वर्ष र विगत ५ वर्षको विकास उपलब्धिको समीक्षा सँगसँगै यस वर्षको मुख्य लक्ष्य तथा कार्ययोजना र यस वर्षबाट प्रारम्भ हुने चौधौँ पञ्‍चवर्षीय (२०२१-२०२५) योजनाका लागि राष्ट्रिय जन काङ्ग्रेसका प्रतिनिधिहरू छलफल तथा बहसमा छन् । साथै यही चौधौँ पञ्‍चवर्षीय योजनामा तिब्बत स्वायत्त प्रदेशलाई दक्षिण एसियासँग जोड्ने एक महत्त्वपूर्ण कोरिडोर बनाउने परियोजना समावेश गरिएको छ ।
 
चौधौँ पञ्‍चवर्षीय योजनाअन्तर्गत राष्ट्रिय आर्थिक तथा सामाजिक विकास र २०३५ दीर्घकालीन लक्ष्यको खाका अनुसार, चीनको तिब्बत स्वायत्त प्रदेशलाई दक्षिण एसियासँग जोड्ने एक महत्त्वपूर्ण कोरिडोर बनाउने परियोजनामा सहयोग गर्ने छ ।
 
यसै बीच तिब्बतले सन् २०२१-२०२५ को अवधिमा यातायात पूर्वाधार परियोजनाका लागि १९० बिलियन युआन (२९.३ बिलियन डलर) को योजनाको तयारीमा रहेको क्षेत्रीय यातायात विभागले जनाएको छ । यो रकमलाई नयाँ एक्सप्रेस मार्ग निर्माण गर्न, चालु राजमार्गको स्तरोन्‍नति गर्न र ग्रामीण क्षेत्रका सडकहरूको सुधारमा खर्चिने छ ।
 
विभागद्वारा जारी वक्तव्यमा सन् २०२५ सम्ममा तिब्बत भित्र राजमार्गको लम्बाइ १ लाख २० हजार किलोमिटरभन्दा बढी हुने उल्लेख छ । त्यसै गरी एक्सप्रेस मार्गको फैलावट तेह्र सय किलोमिटर बढी पुग्‍ने छ । गत वर्षसम्म, यहाँको सडक सञ्‍जालको कुल लम्बाइ १ लाख १८ हजार बढी पुगेको छ, जुन सन् २०१५ को तुलनामा ५० प्रतिशतभन्दा बढी हो ।
 
चीनको केन्द्र सरकारको बलियो समर्थनमा सुविधाजनक, सुरक्षित तथा हरित र साझा एक व्यापक यातायात प्रणालीले सन् २०२५ सम्म आकार लिने आशा गरिएको छ । चीनको तेह्रौँ पञ्‍चवर्षीय (२०१६-२०२०) योजनामा पनि तिब्ब्तमा यातायात सञ्‍जालको निर्माण, विकासको प्रवर्द्धन तथा सीमा क्षेत्रलाई खुला गर्ने उल्लेख थियो । जस अनुरूप नै सो अवधिमा तिब्बतको यातायात क्षेत्रमा उल्लेखनीय सुधार भएको हो ।

यसबाहेक तिब्बतमा रेलमार्गको निर्माण पनि तीव्र स्तरमा भइरहेका छन् । तिब्बतबाट सछ्वानको छङ्तु जोडिने र सिगाचेबाट केरूङसम्मको रेलमार्ग निर्माणाधीन छन् । यसै गरी आकाशे रेलमार्ग भनिने तिब्बत छिङहाई रेलमार्गको सञ्चालनपछि यसको विश्वमा निकै चर्चा भएको थियो ।


यसरी नेपालसँग सीमा नाका जोडेको तिब्बतमा हुने सडक तथा रेलमार्गको विस्तारसँगै नेपालले पनि आफ्नो भूभागमा सडक तथा यातायात पूर्वाधारको विकास तथा विस्तार गर्नसके यसबाट हुने कनेक्टिभिटीले नेपाललाई फाइदा पुग्‍नेछ । यसबाहेक चीनले पनि नेपाललाई दक्षिण एसियाका लागि ट्रान्जिट प्वाइन्ट बनाउन चाहेको छ । नेपालले चीनसँग सात वटा कोरिडोर खोल्ने सम्झौता पनि गरेको छ तर नेपालले अग्रसरता देखाएको देखिँदैन ।
 


Author

थप समाचार
x