विश्व

यमनको आप्रवासी शिविरमा आगलागी हुँदा आठको मृत्यु

इकागज |
फागुन २४, २०७७ सोमबार २०:४४ बजे

दुबई : यमनको राजधानी सहरस्थित एक आप्रवाशी शिविरमा भएको आगलागीमा परी आइतबार कम्तीमा पनि आठ आप्रवासीको ज्यान गएको छ । शिविरमा भएको आगलागीमा शिविरका सुरक्षा गार्डहरू पनि परेको अधिकारीहरूले बताएका छन् । यस क्रममा अरु केही संख्यामा घाइते भएका पनि अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ । 

आगलागीमा परी आठ व्यक्तिको मृत्यु भएको पुष्टि गरियो र मृत्यु हुनेहरूको संख्या अझ धेरै रहेको हुनसक्ने बताइएको छ । सो कुरा आप्रवासी अन्तर्राष्ट्रिय संगठनको मध्यपूर्व र उत्तर अफ्रिकाका क्षेत्रीय निर्देशक कार्मेला गोडेउले जानकारी दिएका हुन् । 


उनले सोमबार आफ्नो ट्‍वीटरमार्फत् जानकारी दिएका हुन् । आईओएमले विशेष गरी आपतकालीन स्वास्थ्य सेवा उपलब्ध गराइरहेको पनि बताएको छ । 

आगलागीमा परी कम्तीमा पनि १७० जना घाइते भएका छन् । तीमध्ये केही जना गम्भीर रूपमा घाइते भएका छन् । आगलागी के कसरी भएको हो भन्‍ने बारेमा भने केही थाहा भएको छैन ।यमनमा गएका केही वर्षदेखि हिंसा जारी रहेको छ । यस हिंसामा परी दशौँ हजार नागरिकको ज्यान गएको छ । यस हिंसाका कारण यमन विश्‍वमा नै सबैभन्दा धेरै मानवीय सहायता आवश्यक पर्ने देशका रूपमा रहेको संयुक्त राष्ट्रसंघले बताएको छ । (रासस)


Author

थप समाचार
x