भारतको राज्यसभाको बैठक फेरि स्थगित
नयाँ दिल्ली : भारतको संघीय संसद्को माथिल्लो सदनको रूपमा रहेको राज्यसभाको बैठक बुधबार फेरि स्थगित भएको छ । विपक्षी पार्टीका सांसदहरूले बैठकमा होहल्ला गर्दै अवरोध गरेपछि यही मार्च १५ तारिखसम्मका लागि बैठक स्थगित भएको हो ।
विपक्षी सांसदहरूले अहिले चरम विवादमा परेको कृषिसम्बन्धी कानुनहरूको विरोध गर्दै ती कानुनहरू तत्काल फिर्ता गर्न माग गरेका छन् । त्यसैगरी पेट्रोलियम पदार्थको मूल्य वृद्धिलगायतका धेरै विषयहरूलाई उठान गर्दै विपक्षी सांसदहरूले संसद् अवरोध गरेका हुन् । यसअघि पनि उनीहरुले संसद् बैठक अवरुद्ध गरेपछि बुधबार मध्याह्न १२ बजेसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
बुधबार सांसदहरूले अवरोध गरेपछि राष्ट्रियसभाका उपाध्यक्ष हरिवंश नारायण सिंहले बैठक स्थगित गरेका थिए । भारतको राज्यसभामा अहिले बजेट अधिवेशनको दोस्रो सत्र चलिरहेको छ । गत सोमबारदेखि बजेट अधिवेशनको दोस्रो सत्र सुरु भएको हो ।
भारतमा केन्द्रीय संसद्ले बनाएको कृषिसम्बन्धी तीन वटा कानुनलाई लिएर किसानले लामो समयदेखि देशव्यापी आन्दोलन गर्दै आएका छन् । यही विधेयकका कारण पहिलो चरणको बजेट अधिवेशन प्रभावित भएको थियो । संसद्मा प्रतिनिधित्व गर्ने भारतीय राष्ट्रिय काँग्रेससमेत २० भन्दा बढी दलले सरकारले ल्याएको कृषि विधेयकको विरोधसँगै संसद् बैठक बहिष्कार गरेका थिए ।
दोस्रो चरणको बजेट अधिवेशन आगामी अप्रिल ८ मा सक्ने संसद् सचिवालयको योजना रहेको छ । पहिलो चरणको बैठक गत जनवरी २९ देखि सुरु भएको थियो । बजेट भने गत फेब्रुअरी १ तारिखमा संसद्मा टेबुल भएको थियो ।
अधिवेशनमा आर्थिक विधेयकसँगै करसम्बन्धी प्रस्ताव पनि पेस गर्ने कार्यसूची रहेको छ । सरकारले त्यस बाहेक अन्य केही महत्वपूर्ण र नियमित प्रस्ताव पनि संसद् बैठकमा पेस गर्ने तयारी गरेको छ । पश्चिम बङ्गाल, तमिल नाडु, आसाम, केरला र पोन्डीचरीमा विधानसभाको निर्वाचन हुन लागेकाले यो संसद् अधिवेशनलाई दलले निर्वाचन लक्षित हुनेगरी उपयोग गर्ने तयारी गरेका छन् । ती प्रदेशमा यही मार्चदेखि अप्रिलसम्म निर्वाचन हुने तय भएको छ । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया