विश्व

अमेरिकन राष्ट्रपति वाइडनले अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीसँग शुक्रबार वार्ता गर्ने

इकागज |
फागुन २६, २०७७ बुधबार १९:४० बजे

वासिङ्टन : अमेरिकी राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्ट्रेलिया, भारत र जापानका प्रधानमन्त्रीहरूसँग पहिलो पटक संयुक्त वार्ता गर्न लागेका छन् । यो गठबन्धनलाई सामरिक दृष्टिबाट चीन विरोधीका रूपमा लिने गरिन्छ । 

भर्चुअल विधिबाट हुन लागेको बैठकलाई राष्ट्रपति वाइडनले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले छिन्‍नभिन्‍न बनाउन खोजेको अमेरिकी गठबन्धनलाई पुनर्जीवित तुल्याउन खोजेको रूपमा लिइएको छ । 


ह्वाइट हाउसकी प्रेस सचिव जेन साकीले मंगलबार पत्रकारहरूसँग कुरा गर्दै हिन्द-प्रशान्त (इन्डो-प्यासिफिक) क्षेत्रका गठबन्धन एवं साझेदार मुलुकसँगको निकट सहयोगलाई अमेरिकाले निकै महत्व दिएको सन्दर्भमा राष्ट्रपति बाइडेनले यो भर्चुअल बैठक गर्न लागेको बताए । चीनसँगको बढ्दो तनाबकै बीच “क्‍वाड” का नामले चिनिने इन्डो-प्यासिफिकका प्रमुख मुलुकहरूबीच व्यापार र सुरक्षालाई ध्यानमा राखेर छलफल हुनेछ । 

अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले बाइडेनले गठबन्धनको क्षमतालाई अर्को स्तरमा माथि लैजान खोजेको बताए । “यो हाम्रो क्षेत्रका लागि ऐतिहासिक क्षण हो र यसले एउटा सार्वभौम, स्वतन्त्र इन्डो-प्यासिफिक क्षेत्रमा हाम्रो सहयोगको आवश्यकताका बारेमा बलियो सन्देश दिनेछ,” प्रधानमन्त्री मरिसनले संवाददातहरूसँग भने । 

प्रेस सचिव साकी र भारत दुवैले भर्चुअल बैठकका अवसरमा जलवायु परिवर्तन र कोभिड-१९ महामारीका विषयमा पनि छलफल हुने बताएका छन् । यी दुबै क्षेत्र बाइडेनका लागि प्रमुख प्राथमिकताका क्षेत्र हुन् । प्रेस सचिव साकीले यसअघि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बैठकमा भाग लिने घोषणा गरेका थिए ।  

भारतीय विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेताहरूले क्षेत्रीय र विश्‍व मामिलाका केही प्रमुख विषयहरूमा छलफल गर्नु हुनेछ, र एउटा स्वतन्त्र, खुला र समावेशी इन्डो-प्यासिफिक क्षेत्र निर्माण गर्नेतर्फ सहयोगका व्यवहारिक क्षेत्रहरूका सम्बन्धमा विचार आदानप्रदान हुनेछ ।”

जापानी प्रधानमन्त्री योशिहिदे सुगा समेत सहभागी हुनुहुने यस बैठकमा सामुद्रिक सुरक्षा प्रवर्धनका विषयमा पनि कुराकानी हुनेछ । भारतीय विदेश मन्त्रालयको विज्ञप्तिमा एसियाली मुलुकमा कोभिड-१९ विरुद्ध लड्न सुरक्षित, समतामूलक र कम खर्चिलो खोपलाई सुनिश्चित गर्ने बारेमा पनि छलफल हुने उल्लेख गरिएको छ ।

जापानी प्रधानमन्त्री सुगाले बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग अलग्गै टेलिफोन सम्वाद गरेका थिए । उनीहरूबीच पूर्वी तथा दक्षिण चीन सागरका सम्बन्धमा यसअघिका समझदारीलाई चीनले उल्ट्याउन खोजेको विषयमा कुराकानी भएको थियो ।

अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता नेड प्राइसले संवाददाताहरूसँग कुरा गर्दै विश्‍वका जल्दाबल्दा समस्या सुल्झाउन क्‍वाड गठबन्धन सक्षम रहेको बताए । गत फेब्रुअरी १८ मा क्‍वीड गठबन्धन मुलुकका विदेश मन्त्रीहरूको बैठकले म्यान्मारमा सेनाले सत्ता लिएकामा आपत्ति जनाएको थियो ।

बैठकमा अमेरिकी अधिकारीहरूले म्यान्मार मामिलामा जापान र भारतले नरम नीति लिएको विषयमा चासो राखेका थिए । हाल जापान र भारतसँग म्यान्मारको मैत्रीपूर्ण सम्बन्ध रहेको छ । विगतमा चीनले म्यान्मारको सैनिक शासनलाई हरसम्भव सहायता गर्ने गरेको थियो ।

तर, क्‍वीडका विदेश मन्त्रीहरूले चीनका बारेमा कुनै विशेष सम्बोधन गरेका थिएनन् । सन् २००७ मा जापानका तत्कालीन प्रधानमन्त्री शिन्जो आबेको अग्रसरतामा क्‍वाड स्थापना गरिएको थियो । (रासस)
 


Author

थप समाचार
x