विश्व

जापानीहरूले नबिर्सने दशकअघिको कालो दिन : नेपालीले भोगेका हिगासी निहोन दाइशिन्साइ

संगीता कुँवर |
फागुन २७, २०७७ बिहीबार १४:४८ बजे

जापान : जापानीहरू मार्च ११ (आज) लाई कालो दिनको रुपमा सम्झिन्छन् । जापानमा ठूलो जनधनको क्षति हुनेगरी भूकम्प र त्यसपछिको सामुन्द्रिक आँधी आएकोे आज १० वर्ष पुगेको छ । भूकम्प र सुनामीले  १५ हजार ८ सय ७९ जनाको ज्यान गएको थियो । त्यस्तै २ हजार ५ सय २९ जना वेपत्ता भएका थिए भने ६ हजार १ सय ५७ जना गम्भीर घाइते थिए ।  विपत्ति र विपत्तिपछिको पीडाले २२ हजार २ सय जनाले ज्यान गुमाएको हालै जापानमा सार्वजनिक भएको एक तथ्यांकमा उल्लेख छ ।


सन् २०११ को मार्च ११ को दिउँसो २ बजेर ४६ मिनेट जाँदा गएको भूकम्प ९ म्याग्निच्यूडको थियो । त्यतीबेला भूकम्पपछिको सुनामीले  मियागी र फुकुसीमा सबैभन्दा धेरै क्षति भएको थियो । २०११ को आँधीमा कुनै नेपाली परेको भने तथ्यांक छैन् । जापानीहरू विपत्तिमापरेर मरेका, हराएकाको र आफन्तको सम्झनामा समुन्द्र र मन्दिर पुगेर फूल चढाउने गर्छन् ।

ठूला-ठूला विपत्तिलाई सामाना गर्दै पुनःनिर्माणको काममा चाँडै लाग्छन् । आँधीले बगर बनाएको मियागी, फूकुसिमा सेन्दाइ र इवाते सहरका पुनःनिर्माण भइसकेका छन । तर त्यहाँका मानिसहरू यो पीडालाई कहिले भुल्न सक्दैनन् । भूकम्प धेरै आउने मुलुकमा जापान अग्रस्थानमै पर्छ ।  २०११ को भूकम्पलाई जापानीहरू हिगासी निहोन दाइशिन्साइको नामले सम्झिन्छन् ।

२०११ मा जापानमा २० हजार नेपाली थिए भने अहिलो झण्डै १ लाख नेपाली छन् । २०११ मा ठूलो भूकम्पको धक्का र त्यसपछिको असरको अनुभव गरेका नेपालीहरू भने सम्झिँदा पनि डर लागेको उनीहरू बताउँछन् । त्यो समय आँधी हुरीका भिडियोहरू चलचित्रका दृश्य जस्तै लागेको नेपालीहरू सुनाउँछन् । यहाँका संरचनाहरू भूकम्प निरोधक बनाइएका हुन्छन् । अहिले पनि ५/६ रेक्टरस्केलको भूकम्प आउँदा सामान्यबाहेक कुनै ठूलो क्षति हुँदैन । प्राकृतिक प्रकोपको पूर्वतयारी र जानकारी जापानीसँगै विदेशीहरूलाई विदेशी भाषामा पनि राम्रोसँग गराइएको हुन्छ । 

विदेशी भएर दुःख र पीडामा साथ दियौँ 

तत्कालीन एनआरएनए जापानका अध्यक्ष रोशन के‍सीको अनुभव 

२०११ को भूकम्प आउने म बेला सिवुयामा थिएँ । पुरै धर्ति उथलपुथल जस्तो भयो । टिभिका दृश्यहरु कहाली लाग्दा थिए । मियागीसेन्दाइ, इवाते, फुकुसिमामा रहेका नेपालीलाई उद्दार र अवस्था बुझ्नु नै सबैभन्दा ठूलो काम थियो । म एनआरएनए जापानको अध्यक्ष भएको हिसाबले पनि धेरै फोन र जानकारीका फोन आउँथे । तत्कालै दूतावासमा सम्पर्क गरेर हामीले गर्न सक्ने उद्दार नेपालीको अवस्था बुझ्यौँ । 

आणविक भट्टीबाट निस्कने अति विषालु रेडियोधर्मी विकिरणको कुराले सबैभन्दा डर भयमा नेपालीहरुथिए । त्यो बेला नेपालीहरुलाई कसरी उद्दार गर्न सकिन्छ भनेर नेपाली संघसंस्थाले एकदमै सहयोग भयो । पहिला नेपालीको उद्दार र पुनःस्थापनालाई  प्राथमिकता बनायौँ । आफन्तलाई सही सूचना दिन र सम्पर्क गर्न गराउन हामीले काम गर्‍यौँ । त्यसपछि हामी कर्म गरिरहेको मुलुक जापानको दुखाइमा कसरी साथ दिन सक्छौँ भनेर सहयोग गर्ने योजना बनायौँ । 

मियागीकेनको नगर सदस्यलाई फोन गरेर हामीले गर्न सक्ने सहयोगबारे जानकारी गरायौँ त्यसपछि सबै साथीहरूले यति राम्रो साथ दिनुभयो कि हामी आफैँले सबैजनाले पैसा उठाएर सेल्टरमा बसेका जापानीहरूलाई इन्डिएन खाना त्यहीँ पुगेर बनाएर खुवायौँ । योगा जानेका साथीहरु योगा सिकाउने । सेल्टरमा बसेकाहरुसँग कुराकानी गरेर दुखेको घाउमा साथ दिने काम गर्‍यौँ । जापानको त्यतिबेलाको नेपाली समुदाय बिना यो सम्भव थिएन । हामी सेल्टरमा पुगेको देखेर जापानीहरू पनि अचम्म र खुसी पनि भए । त्यसले नेपालीहरुले दुःखमा गरेको सहयोग मनमा राखे । विदेशी भए पनि कर्म भूमिको पीडामा साथ दिनु र सहभागी हुन पाउनु यो हाम्रो लागि पनि हो ।

मार्चमा गएको भूकम्पपछि हामी अप्रिल महिनामा त्यहाँ पुग्दा घाइतेको उपचार, हराइरहेकाको खोजी र सेल्टरमा बसेकाहरुको हेरचाह हेर्दा अचम्म लाग्यो । जापानीहरू आफूलाई पर्दा मात्र नभएर अरुको दुःखमा पनि साथ दिएर उद्दार र सहयोगमा मुलुकभरबाट जुटेको देख्दा मन खुसी भयो । आर्थिक रुपले सम्पन्न भएको मुलुक र मिहिनेतले बनाएको मुलुकको पुनःनिर्माण र आगामी विपत्तिको पूर्वतयारी त झन चाखलाग्दो नै छ । जापानको यो  विपतमा पुनःनिर्माणबारे नेपाल र नेपालीले पनि राम्रो पाठ सिक्न सक्छ । 

नेपाली दूतावास नै भागेको तितो अझै नेपाली समुदायले बिर्सेका छैनन्

तिलक मल्ल (प्रधान सम्पादक, समुद्रपारि डटकम)

त्यो समय सम्झिँदा अझै मन नरमाइलो लाग्छ । भूकम्पले गर्दा फुकुसिमा आणविक भट्टीमा भएको क्षतिका कारण मानव स्वास्थ्यकालागि अति नै हानिकारक मानिने रेडियोधर्मी विकिरणले अर्को विकराल समस्याको रुप लिएको थियो । आणविक भट्टीमा भएको क्षतिका कारण दोस्रो विश्वयुद्धको ६५ वर्षपछि जापानका ४४ लाख घरपरिवार पहिलो पटक अध्याँरोमा बस्न बाध्य भएका थिए भने १५ लाख जनताहरू खानेपानीको सुविधाबाट वञ्चित भए । सो भट्टीको आसपासका क्षेत्रमा उत्पादित कृषिजन्य दैनिक उपभोग्य सागसब्जी, अन्‍न, फलफुल विकिरणयुक्त हुन सक्ने भन्दैसरकारले उपभोग नगर्न उर्दी जारी गर्नुका साथै उत्पादनका धनी कृषकहरूलाई सरकारले सोधभर्ना स्वरुप राहत उपलब्ध गराएको थियो । त्यतिबेला जापानमा रहेका नेपालीहरूलाई जोखिममुक्त बनाउन यहाँका तत्कालिन सक्रिय संघसंस्थाहरुले खेलेको भूमिका उदाहरणीय थिए । 

मियागी, सेन्दाइ, इवाते, फुकुसिमा लगायतका अति प्रभावित क्षेत्रका नेपालीहरुलाई उद्वार गर्न टोकियोबाट दैनिकजसो टोलीका टोली प्रस्थान गरी टोकियो ल्याएर शिविरहरुमा राख्ने, नेपाल फर्कन चाहनेलाई नेपाल फर्कने व्यवस्था गर्ने, कलेज, विश्वविद्यालयको अध्ययन सुचारु गर्न चाहनेलाई यतै सुरक्षित व्यवस्थापन गर्ने जस्ता कार्यहरु भएका थिए । जापानी सञ्चार माध्यममा पहुँच नहुने सर्वसाधारणहरूका लागि मिडियाकर्मीहरुको सक्रियता र विज्ञहरुको सहयोगमा २४ सै घण्टा सूचना प्रवाह गर्न हटलाईन सेवाकोव्यवस्थाले प्रभावकारी भूमिका खेलेको थियो । हामीले पनि सूचनाप्रवाह गरिरहेका हुन्थ्यौँ । आणविक भट्टीबाट निस्कने अति विषालु रेडियोधर्मी विकिरणको अवस्था दिनदिनै जानकारी हरेकका लागि अति आवश्यक थियो ।

यस्तो महाप्रलयकारी समस्याबाट बच्न भारत, कोरिया, चीन, थाइ, भियतनाम, श्रीलंकालगायतका विदेशीहरू उल्लेख्य मात्रामाआफ्नो देश फर्केका थिए तर नेपालीहरू भने खासै स्वदेश फर्केनन् । यसको मुख्य कारण भनेको त्यतिबेला क्षणक्षणमा उपलब्धगराईएको भरपर्दो सूचना संप्रेषण र नेपाली समुदायले खेलेको प्रभावकारी एवं अभिभावकीय भूमिका नै हो । तर विडम्बना त्यतिबेला टोकियो स्थित नेपाली दूतावास भने भागेर ओसाका पुगेको तितो सत्य यहाँका नेपालीहरुले अझै बिर्सेका छैनन् । त्यतीबेला दूतावास कार्यबहाक राजदूतको नेतृत्वमा थियो । सायद ति व्यक्ति पछि युरोप तिरको राजदूत पनि भएझै लाग्छ ।

समग्रमा, प्राकृतिक प्रकोप पूर्वसूचना दिएर नआउने हुँदा त्यसको पूर्वतयारी, प्रकोपपछिको तत्काल व्यवस्थापन, राहत तथा उद्वार कार्य, क्षतिग्रस्त क्षेत्रको पुनःस्थापनमा जापानले देखाएको उदाहरण अनुकरणीय छन् । महामारी तथा महाप्रलयकारी समयमा विदेशको ठाउँमा मिडियाको भूमिका अझ महत्वपूर्ण हुने ब्यहोरा कोभिड-१९ को यस महामारीमा पुनः एकपटक प्रमाणित भएको छ ।


Author

संगीता कुँवर

कुँवर जापानस्थित इकागजकी प्रतिनिधि हुन् ।


थप समाचार
x