विश्व

क्‍वाड बैठकको निर्णयः खोप वितरणदेखि दूरसञ्‍चार उपकरण उत्पादनमा सहकार्यसम्‍म

इकागज |
फागुन २९, २०७७ शनिबार ११:२६ बजे

काठमाडौँ: अमेरिका, अस्ट्रेलिया, जापान र भारतले कोभिड–१९ खोप वितरणमा सहकार्य गर्ने भएका छन् । शनिबार चार मुलुक सम्मिलत क्‍वाड समूहको भर्चुअल बैठकमा यस्तो सहमति भएको अन्तराष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ । 

अमेरिकी राष्ट्रपति जो बाइडनसँगै अस्ट्रेलिया, जापान र भारतका प्रधानमन्त्री सहभागी भएको क्‍वाड बैठकमा मौसम र सुरक्षा सम्बन्धी मुद्दाहरूमा पनि सहकार्य गर्ने सहमति भएको बताइएको छ । एसिया महादेशमा बढ्दै गएको चिनियाँ प्रभावलाई रोकने उदेश्यले बनाइएको क्‍वाड समूहको बैठकले ‘इन्डो प्यासिफिक’ क्षेत्रलाई स्वतन्त्र, खुल्ला र समावेशी बनाउने विषयमा पनि मिलेर अघि बढ्ने प्रतिबद्वता जाहेर भएको रोयटर्सको रिपोर्टमा उल्लेख छ । 


क्‍वाडले हिन्द–प्रशान्त महासागर वरिपरी रहेका मुलुकहरूमा कोभिड खोपको सहज वितरणका लागि खोपको उत्पादन बढाउने विषयमा पनि सहमति गरेको बताइएको छ । सोही योजना मुताबिक, अमेरिकी सरकारले भारतीय कम्पनी बायोलोजिकल इ लिमिटेडलाई सन् २०२२ को अन्त्य सम्ममा एक अर्ब डोज खोपको उत्पादन गर्न आर्थिक सहयोग गर्नेछ । उता जापानले भारतीय सरकारलाई कोभिड खोपको उत्पादन र निर्यातका लागि ऋण उपलब्ध गराउनेछ । 

त्यसैगरी क्वाड सदस्य मुलुकहरुले मौसम परिवर्तन लगायतमा मुद्दामा सहकार्य गर्नका लागि भिन्दै कार्यदल बनाउने निर्णय पनि भर्चुअल बैठकमा गरेका छन् । त्यस्तै दूरसञ्चारमा प्रयोग हुने उपकरणको विकास र उत्पादनमा सहकार्य गर्नका लागि पनि कार्यदल बनाइने बताइएको छ ।


 


Author

थप समाचार
x