अफगानिस्तानको हेरातमा कार बम बिस्फोटमा आठको मृत्यु
हेरात : पश्चिम अफगानिस्तानमा शुक्रबार भएको शक्तिशाली कार बम बिस्फोटमा परेर आठ जनाको मृत्यु भएको छ । दर्जनौं घाइते भएका छन् । सर्वसाधारणलाई लक्षित गरी आक्रमण भएको भन्दै संयुक्त राष्ट्रसंघले निन्दा एवं खेद व्यक्त गरेकै समय पछिल्लो आक्रमण भएको हो ।
हेरातस्थित प्रहरी मुख्यालयलाई लक्षित गरी कारबम बिस्फोट गराइएको प्रहरीले जनाएको छ । हेरातका प्रान्तीय गभर्नरका प्रवक्ता जेलानी फरहादका अनुसार बम बिस्फोटबाट दर्जनौं घर र पसलहरू नराम्रोसँग क्षतिग्रस्त भएका छन् । मृत्यु हुनेहरूमा महिला, बालबालिका र सुरक्षाकर्मी रहेको प्रवक्ता फरहादले बताए । उनले बम बिस्फोटबाट ४७ जना घाइते भएका र उनीहरूको हेरातका अस्पतालहरूमा उपचार भइरहेको जानकारी दिए ।
अफगानिस्तानको मुख्य विद्रोही समूह तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले हेरातमा भएको बिस्फोटसँग आफ्नो समूहको कुनै सम्बन्ध नरहेको बताएका छन् । तर, तालिबानका लडाकूहरू यस राज्यमा निकै सक्रिय छन् र हालैका दिनहरूमा उनीहरूले सुरक्षाफौजलाई लक्षित गरी धेरैवटा हमला गरिसकेका छन् ।
राष्ट्रपति अश्रफ घानीले हेरात बिस्फोटका लागि तालिबान दोषी रहेको बताएका छन् । राष्ट्रपति घानीले वक्तव्य प्रकाशन गरी तालिबान समूहले आफ्नै जनतामाथिको अवैधानिक युद्धलाई निरन्तरता दिइरहेको र उनीहरूले वर्तमान संकटको शान्तिपूर्ण समाधानका लागि पहल नगरेको उल्लेख गरेका छन् ।
हालैका महिनाहरूमा अफगानिस्तानमा हिंसात्मक घटनाहरू बढ्दै गएका छन् । सरकार र तालिबान समूहबीच शान्ति वार्ता भइरहे पनि तालिबान समूहले पत्रकार, अधिकारवादीहरू र सरकारी कर्मचारी, वकीललगायतलाई लक्षित गरी आक्रमण गरिरहेका छन् ।
गत शुक्रबार, राष्ट्रसंघीय सुरक्षा परिषद्ले अफगानिस्तानमा नागरिक-लक्षित आक्रमणलाई लिएर कडा शब्दमा निन्दा एवं भत्र्सना गरेको थियो । अमेरिकी राष्ट्रपति जो बाइडेनले तालिबान र अमेरिकाबीच भएको सम्झौताको समीक्षा गरिरहेको बताएका छन् । (रासस)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया