विश्व

ब्राजिलमा एकै दिन ७६ हजार संक्रमित, १९९७ जनाको मृत्यु

इकागज |
चैत १, २०७७ आइतबार १२:५९ बजे

साओ पाउलो :  ब्राजिलमा कोरोनाभाइरसबाट एकै दिनमा थप ७६ हजारभन्दा बढी सङ्क्रमित भएका छन् । सरकारी अधिकारीहरूले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा ७६ हजार १७८ जना सङ्क्रमित भएका हुन् । 

त्यसैगरी सोही अवधिमा कम्तीमा एक हजार ९९७ जनाको कारोना संक्रमणका कारण मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ । ब्राजिलमा अहिलेसम्म कुल एक करोड १४ लाख ३९ हजार ५५८ जना सङ्क्रमित भएका छन् भने दुई लाख ७७ हजार १०२ जनाको मृत्यु भइसकेको छ । 


कोरोनाभाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ । त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै ४३४ जनाको मृत्यु भएको छ । सेवा क्षमता कम भएको र कतिपय अवस्थामा अभाव समेत भएको अधिकारीहरूले जानकारी दिएका छन् । 

यसैबीच, ब्राजिलका पूर्व राष्ट्रपति लुइस इनासियो लुला डि सिल्भाले कोरोनाभाइरस विरुद्धको खोप लगाएका छन् ।  उनले शनिबार पहिलो खोप लगाएका हुन् । “कोरोनाभाइरसबाट जोगिनका लागि सबै मानिसले खोप लगाउनु पर्छ,” खोप लगाएपछि पत्रकारहरुसँग उनले भने ।  

उनले सबै नागरिकलाई कोरोना भाइरसविरुद्धको खोप लगाउन पाउने सुनिश्चित गर्न पनि सरकारसँग माग गरे । पूर्वराष्ट्रपति लुलाले आगामी १४ देखि २८ दिन भित्र आफूले दोस्रो खोप पनि लगाउने जानकारी दिए ।  (रासस)
 


Author

थप समाचार
x