अमेरिकाले उत्तर कोरियासँग वार्ता गर्न प्रयास गर्दै
सियोल : अमेरिकी राष्ट्रपति जो बाइडनको प्रशासनले फेब्रुअरी महिनायता उत्तर कोरियाली सरकारलाई सम्पर्क गर्ने प्रयास गरेको अमेरिकी अधिकारीहरूले बताएका छन् ।
अमेरिकी प्रयासका बाबजुत अहिलेसम्म प्योङ्याङबाट कुनै उत्तर प्राप्त हुन नसकेको बुभिएको छ ।
अधिकारीहरूका अनुसार बढ्दो तनावलाई रोक्न भन्दै वाशिङ्टनले प्योङ्याङलाई विभिन्न माध्यमबाट पत्राचारको प्रयास गरेको थियो ।
उत्तर कोरियाको परमाणु कार्यक्रम र विभिन्न क्षेप्यास्त्र कार्यक्रमका कारण दुई देशबीच लामो समयदेखि असहज सम्बन्ध रहँदै आएको छ ।
बाइडनका पूर्ववर्ती डोनल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ-अनबीच तीन पटक वार्ता भएपनि तिनले उल्लेखनीय प्रतिफल दिन सकेका थिएनन् ।
उत्तर कोरिया आणविक अस्त्र परित्याग गर्न सहमत होस् भन्ने अमेरिका र पश्चिमा मुलुकहरूको प्रमुख चाहना रहेको तर वार्ताका क्रममा सहमति बन्न नसकेपछि ती वार्ताले अपेक्षाकृत सफलता पाउन नसकेका हुन् ।
हुन त दुई वर्ष पहिले अमेरिका र उत्तर कोरियाबीच लडाईं नै हुनसक्ने खालका प्रतिक्रियाहरू एक अर्काले जनाउने गरेका थिए । वार्ताका माध्यमबाट कोरियाली प्रायद्वीपलाई आणविक निशस्त्रीकरण गर्ने ट्रम्प प्रशासनको नीतिले सफलता पाउन सकेको थिएन ।
प्योङ्याङसँग सम्पर्क गर्ने प्रयासअन्तर्गत ‘न्यूयोर्क च्यानल’ भनिने संयुक्त राष्ट्रसङ्घमा रहेको उत्तर कोरियाली नियोगलाई समेत प्रयोग गरिएको थियो ।
बेलायती समाचारसंस्था रोएटर्सका अनुसार उत्तर कोरियासँग ‘कैयौँ पटक’ सम्पर्क गर्न खोजिए पनि १२ महिनाभन्दा बढी समयमा कुनै अर्थपूर्ण सम्पर्क स्थापना हुन सकेको छैन ।
बाइडनले यसअघि नै उत्तर कोरियाका लागि आफ्नो नीतिको समीक्षा गर्ने घोषणा गर्नुभएको छ । त्यस्तो समीक्षा एप्रिल महिनामा सार्वजनिक गरिने अपेक्षा छ विश्व समुदायको छ ।
उनले उत्तर कोरियामाथिको चर्को प्रतिबन्ध खुकुलो पार्नुअघि प्योङ्याङको आणविक निरस्त्रीकरण हुनुपर्नेमा जोड दिएका थिए ।
उत्तर कोरियाले अझ स्पष्ट निसाना गर्न सक्ने लामो दूरीका क्षेप्यास्त्र, ठूला आणविक हतियार, जासुसी भूउपग्रह र आणविक ऊर्जाचालित पनडुब्बीहरू विकास गरेको प्योङयाङबारे जानकारहरूले बताउने गरेका छन् । (एएफपी)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया