भारतमा काेभिडबाट थप चार हजार ५७५ जना सङ्क्रमित
एजेन्सी – भारतमा काेभिड-१९ बाट दैनिक सङ्क्रमितको सङ्ख्या दिनप्रति दिन घट्दै गइरहेको भएपनि गत सोमबारको तुलनामा मङ्गलबार केही मात्रामा बढेको पाइएको छ ।
भारतमा पछिल्लो २४ घण्टामा थप चार हजार ५७५ सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । यद्यपि सोमबार तीन हजार ९९३ जना काेभिड सङ्क्रमित भएका थिए ।
योसँगै भारतमा अहिले सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या भने ४६ हजार ९६२ पुगेको अधिकारीले जनाएका छन् । सक्रिय सङ्क्रमितको यो संख्या कूल सङ्क्रमितको ०.११ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार सोही अवधिमा सात हजार ४१६ काेभिडबाट सङ्क्रमणमुक्त भएका छन् । एउटै अवधिमा नयाँ सङ्क्रमितको सङ्ख्याभन्दा सङ्क्रमणमुक्त भएकाको सङ्ख्या धेरै भएकाले सक्रिय सङ्क्रमितको सङ्ख्या पनि घट्दै गइरहेको हो।
भारतमा अहिलेसम्म काेभिडबाट सङ्क्रमित भएर पनि सङ्क्रमणमुक्त भइसकेकाको सङ्ख्या चार करोड २४ लाख १३ हजार ५६६ पुगेको छ । भारतमा कोरोना भाइरस सङ्क्रमण मुक्त दर ९८.६९ प्रतिशत रहेको समाचारमा जनाइएको छ ।
कोरोनाभाइरसका कारण भारतमा अहिलेसम्म पाँच लाख १५ हजार ३५५ को मृत्यु भएको छ । तीमध्ये १४५ को पछिल्लो २४ घण्टामा मृत्यु भएको हो । गत मङ्गलबार एकै दिनमा भारतमा आठ लाख ७९ हजार ९०४ को कोरोना परीक्षण गरिएको छ । भारतमा काेभिड सुरु भएबाट हालसम्म ७७ करोड ५२ लाखभन्दा बढी व्यक्तिको काेभिड परिक्षण भइसकेको छ ।
भारत सन् २०२१ को जनवरी १६ बाट केभिडविरुद्ध खोप अभियान सुरु भएको थियो । सो समयबाट हालसम्म काेभिडविरुद्धको एक अर्ब ७९ करोड ३३ लाख भन्दा बढी डोज खोप लगाइएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया