विश्व

युक्रेनमा रुसी आक्रमणकाे १५औं दिन

युक्रेनमा रुसको आक्रमण तेश्रो सातामा प्रवेश गर्दा अहिलेसम्म के–के भयो ?

इकागज |
फागुन २६, २०७८ बिहीबार १८:१९ बजे

काठमाडौँ– युक्रेनमा रुसको आक्रमण १५औं दिन पुगिसकेको छ, अर्थात् आजदेखि दुई देशको युद्ध तेश्रो सातामा प्रवेश गरेको छ । 

यसबीचमा रुस र युक्रेनबीच दुईओटा वार्ता असफल भैसकेका छन् । हालै टर्कीमा आयोजित अन्तालिया डिप्लोमेसी फोरमको साइडलाइन्समा रुस र युक्रेनका विदेशमन्त्रीले आपसमा वार्ता गरेका छन् । रुसले फ्रेबुअरीको २४ देखि युक्रेनमा आक्रमण शुरु गरेपछि यो अर्को उच्चस्तरीय वार्ता हो । यसअघि बेलारुसको मध्यस्थतामा रुस र युक्रेनबीच वार्ता भएको थियो । तर वार्तामा कुनै प्रगति भएको छैन । 


युक्रेनले रुसद्वारा लुहान्स्क, डोहान्स्कमा रुसद्वारा नरसंहार भएको बताएको छ । युक्रेनमा युद्धका लागि घुस्ने क्रममा रुसले युक्रेनको उक्त क्षेत्रलाई रुसले छुट्टाछुट्टै राज्यको मान्यता दिएको थियो । युक्रेनले यो कार्य युद्धअपराध र बर्बरता भएको बताएपनि रुसले भने उक्त अस्पताल सैन्य आधार भएकाले आक्रमण गरेको प्रतिक्रिया दिएको छ । 

मरियुपोलका मेयरले रुसको आक्रमण सुरु भएपछि पछिल्लो १० दिनमा १,२०७ सर्वसाधरण मारिएको बताएका छन् । रुसले मरियुपोल नामक यो बन्दरगाह सहरलाई दश दिनदेखि नाकाबन्दी गरेको छ । अन्तर्राष्ट्रिय रेडक्रसले त्यहाँको अवस्थालाई ‘विनाशक’ भनेको छ । त्यहाँका मानिसहरू पछिल्लो एक सातादेखि पानी, उर्जा र तापको अभावमा संघर्ष गरिरहेका छन्, सहरबाट बाहिर निस्कने मार्गहरूमा बारम्बार बमबारी भैरहेको छ । 

रुस र युक्रेनबीच युद्ध सुरु भएयता अहिलेसम्म २२ लाखले युक्रेन छाडेका छन् । रुस र युक्रेनबीचको युद्धमा यसबीचमा भएको युद्धविराममा १२ घण्टाको अवधिमा विभिन्न आवासीय क्षेत्रबाट ३५,००० सर्वसाधरणको उद्दार गरिएको छ । युक्रेनी राष्ट्रपति भोलोदीमिर जेलेनेस्कीले युक्रेनको मरियुपोल, भोल्नोभाख र इज्युमबाट सर्वसाधरणको उद्दारका लागि आज पनि थप करिडोरहरू खुला गरिने अपेक्षा गरेका छन् । 
रुसी सेनाले बख्तरबन्दसहित युक्रेनको राजधानी किभलाई सहरको बाहिरपट्टीबाट घेरेको छ । 

युरोपेली युनियन र नाटो समर्थित राष्ट्रहरूले रुसमाथि दबाब बढाएर युद्ध रोक्नका लागि प्रतिबन्धमाथि प्रतिबन्ध थपिरहेका छन् । बेलायतले रुसका अब्रामोभिक लगायत ६ जना कुलीनको चेल्सी फुटबल क्लब तथा सम्पत्ति रोक्का गरेको छ  । यो प्रतिबन्धसँगै रोमन अब्रामोभिक चेल्सी फुटबल क्लब बिक्री गर्न असमर्थ भएका छन् । 


Author

थप समाचार
x