विश्व

रुससँगको व्यापार रोक्न युरोपलाई युक्रेनी राष्ट्रपतिको आग्रह

इकागज |
चैत ७, २०७८ सोमबार २१:३४ बजे

एजेन्सी – युक्रेनका राष्ट्रपति भोलोडिमीर जेलेन्स्कीले रुससँगको व्यापार बन्द गर्न युरोपेली देशहरूलाई अनुरोध गरेका छन् ।

आफूमाथि झन्डै एक महिनादेखि आक्रमण गरिरहेको रुसलाई दबाबमा पार्नका लागि युक्रेनी राष्ट्रपति जेलेन्स्कीले युरोपेली देशका नेताहरूलाई आग्रह गरेका हुन् ।


“कृपया रुससँग लड्नका लागि हामीलाई हतियार सहयोग चाहिएको छैन, हामीलाई तपाई सहयोग गर्न चाहनुहुन्छ भने रुससँगको तपाईहरूको व्यापार बन्द गरिदिए हुन्छ,” उनले भने ।

भिडियोमार्फत गरिएको सम्बोधनका क्रममा उनले रुससँग युरोपेली देशहरूले कुनै लेनदेन नगर्ने, आफ्ना सामान पनि उता नपठाउने र उताबाट पनि केही सामान आयात नगर्ने हो भने रुस दबाबमा पर्ने दाबी गरे । 

“रुसलाई युक्रेनबाट भाग्न बाध्य बनाउन म सबैलाई अनुरोध गर्दछु,” युक्रेनी राष्ट्रपति जेलेन्स्कीले भने। 

जर्मनीलाई नामै लिएर उनले जर्मनी र युरोपसँग रुसलाई दबाबमा पार्नसक्ने क्षमता भएको दाबी गर्दै त्यो प्रयोग गर्न अनुरोध गरे । 

युरोपेली देशहरूका विदेश मन्त्रीहरूको बैठक चलिरहेका बेला उनले उनीहरूलाई नै लक्षित गरी यस्तो अनुरोध गरे ।


Author

थप समाचार
x