३८ लाख यूक्रेनी विदेशी शरणमा, ९० प्रतिशत महिला तथा केटाकेटी
फाइल तस्बिर
जेनेभा - एक महिनाअघि रूसले यूक्रेनमा गरेको आक्रमणपछि ३८ लाखभन्दा बढी मानिस युक्रेनबाट भागेका संयुक्त राष्ट्रसंघको आइतबार सार्वजनिक तथ्याङ्कले देखाएको छ । यद्यपि शरणार्थीको बहावमा पछिल्लो साता उल्लेख्य रुपमा सुस्ताएको छ ।
संयुक्त राष्ट्रसंघ शरणार्थी निकाय, यूएनएचसीआरले युद्ध सुरूभएदेखि ३८ लाख २१ हजार ४९ युक्रेनीहरू देशबाट भागेका तथ्याङ्क सर्वजनिक गरेको हो । यो शनिबारको तथ्याङ्कभन्दा ४८ हजार ४५० सङ्ख्याको वृद्धि हो ।
विदेशमा पलायन भएकामध्ये ९० प्रतिशत महिला तथा केटाकेटीहरू रहेका यूएनएचसीआरले जनाएको छ ।
यूक्रेनबाट जीवनका लागि भागेकामध्ये सबैभन्दा धेरै दुई लाख २० हजार छिमेकी पोल्याण्डमा पुगेका छन् भने ५० हजारभन्दा बढी रोमानिया पुगेका छन् । उनीहरूमध्ये झन्डै तीनलाखले रूसमा शरण लिएका बताइएको छ ।
एक महिनाअघि सङ्कट सुरु हुनुभन्दा अघि यूरोपेली संघको सदस्य रहेको पोल्याण्डमा करिब १५ लाख युक्रेनीहरू बसोबास गर्दै आएका तथ्याङ्कमा उल्लेख छ । फेब्रुअरी २४ मा आक्रमण हुनुभन्दा पहिले सरकारी नियन्त्रणमा रहेका क्षेत्रहरूमा बस्दै आएका कूल १० लाखभन्दा बढी मानिसहरूले अहिले आफ्नो घर छोडेर भागेका बताइएको छ । यसमा आन्तरिक रूपमा विस्थापित भएकामध्ये झन्डै छ लाख ५० हजार मानिसहरू पनि समावेश छन्।
युक्रेनको शरणार्थी सङ्कट दोस्रो विश्वयुद्धपछि यूरोपको सबैभन्दा खराब सङ्कट हो ।
संयुक्त राष्ट्रसंघ बालकोष, युनिसेफले बिहीबार बताएअनुसार यूक्रेनमा रूसले आक्रमण सुरू गरेदेखि अहिलेसम्म अनुमानित ७५ लाख बाल जनसङ्ख्याको आधाभन्दा बढी अर्थात् भण्डै ४३ लाख बालबालिकाहरू आफ्नो घर छोड्न बाध्य भएका छन् ।
यसमध्ये झन्डै १५ लाख बालबालिकाहरू शरणार्थी बनेका छन् भने २५ लाख युद्धग्रस्त देशभित्र विस्थापित भएका बताइएको छ ।
युद्धका कारण यूक्रेनको जीवनस्तर खस्कँदै गएपनि दिनहुँ विदेशिनेको सङ्ख्या पछिल्लो हप्तामा प्रतिदिन एक लाख भन्दा कम र हालैका दिनहरूमा ५० हजार भन्दा कम भएको छ । यस तथ्याङ्कमा युक्रेन छोडेर घर फर्कन गएका छिमेकी राज्यका नागरिकहरू समावेश गरिएका छैनन् ।
यूएनएचसीआरले बताएअनुसार अहिलेसम्म युक्रेनी शरणार्थीमध्ये प्रत्येक दश जनामा छ व्यक्ति पोल्याण्ड पुगेका छन् अर्थात् पोल्याण्ड पुनेको सङ्ख्या २२ लाख ६७ हजार १०३ रहेको छ । यूक्रेनबाट तत्काल पश्चिमी छिमेकीहरूमा प्रवेश गर्ने धेरै मानिसहरू यूरोपको शेंजेन खुला सिमाना क्षेत्रका अन्य राज्यहरूमा जाने क्रम निरन्तर रहेको छ ।
धेरै जना विपरीत दिशातर्फ पनि गइरहेका छन् । सीमा रक्षकहरूले युद्ध सुरु भएदेखि लगभग दुई लाख ७४ हजार मानिसहरू पोल्याण्ड छोडेर यूक्रेन गएका पनि बताइएको छ ।
विदेशिएका शरणार्थीमध्ये करिब छ लाख रोमानियामा प्रवेश गरेका छन् र यिमध्ये अधिकांशे रोमानिया र यूक्रेनको बीचमा रहेको मोल्डोभाबाट पार गरेका छन् । धेरै मानिसहरू रोमानिया हुँदै अन्य मुलुकतर्फ गएका पनि बताइएको छ ।
यूएनएचसीआरले तीन लाख ८१ हजारभन्दा बढी युक्रेनीहरू गरिब राष्ट्र माल्डोभातर्फ गएका बताइएको छ । त्यसैगरी करिब तीन लाख ५० हजार यूक्रेनीले हङ्गेरीमा शरण लिन पुगेका छन् ।
यूएनएचसीआरको तथ्याङ्कअनुसार रूसमा लगभग २७ लाख ७१ हजारभन्दा शरणार्थीहरूले आश्रय लिएका छन् ।
यसबाहेक, फेब्रुअरी २१ देखि २३ को बीच पूर्वी यूक्रेनको डोनेट्स्क र लुगान्स्कका पृथकतावादी समर्थक क्षेत्रहरूबाट एक लाख १३ हजार मानिसहरू रूसमा प्रवेश गरेका थिए ।
यूक्रेनको सबैभन्दा छोटो सीमा पार गरेर करिब दुई लाख ७२ हजार मानिस स्लोभाकिया पुगेका छन् भने करिब छ हजार ५०० शरणार्थीहरू रूसको निकट सहयोगी बेलारूसको उत्तरी क्षेत्रमा पुगेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया