विश्व

युक्रेनको बुचा सहरमा २० सर्वसाधरणको शव छरिएको अवस्थामा भेटियो

इकागज |
चैत २०, २०७८ आइतबार ८:३० बजे

किभ - युक्रेनी सेनाले राजधानी किभनजिकैको बुचा सहरको सडकमा कम्तीमा २० सर्वसाधारणको शव फेला परेको जनाएका छन् । 

सो सहरलाई युक्रेनी सेनाले रुसी फौजबाट हालै आफ्नो नियन्त्रणमा राख्न सफल भएको थियो । फेला परेका २० ओटै शव पुरुषहरूको रहेको बताइएको छ । तीमध्ये एउटा शवको दुबै हात पछाडि बाँधिएको थियो ।


शवहरू  राजधानीको उत्तरपश्चिमको आवासीय सडकमा छरिएका थिए । मृत्युको कारण प्रष्ट हुन सकेको छैन । यद्यपि, एक जनाको टाउकोमा ठूलो चोट लागेको थियो । 

राजधानी किभलाई घेरा हाल्ने प्रयास बिफल भएपछि रुसी फौज किभनजिकैका धेरै सहरहरूबाट फर्किएको छ भने युक्रेनले बुचा ‘स्वतन्त्र’ भएको  घोषणा गरेको छ ।
तर युद्धका कारण सहर ध्वस्त बनेको छ ।  अपार्टमेन्ट ब्लकहरू गोलाबारीले छिया छिया बनेका छन् । 
 


Author

थप समाचार
x