विश्व

कति समय रहन्‍छन् इमरान खान पदमा ?

इकागज |
चैत २१, २०७८ सोमबार ९:८ बजे

इस्लामावाद- विघटित संसदका प्रधानमन्त्री इमरान खानले आफ्ना कर्तव्य जारी राख्ने पाकिस्तानका राष्ट्रपति अरिफ अल्भीले बताएका छन् । कामचलाउ प्रधानमन्त्री नियुक्त नहुन्जेल खानले पाकिस्तानको संविधानको धारा २२४ ए बमोजिम आफ्ना कर्तव्य जारी राख्ने राष्ट्रपति अल्भीले बताएका हुन् । 

प्रधानमन्त्री खानको सिफारिसमा राष्ट्रपति अल्भीले आइतबार संसद विघटन गरेका थिए । यसअघि प्रधानमन्त्री इमरान खानविरुद्ध संसदमा पेस भएको अविश्वासको प्रस्ताव खारेज भएको छ ।


तल्लो सदन नेसनल एसेम्ब्लीका उपसभामुख क्वासिम खान सुरीले खानविरुद्धको प्रस्ताव खारेज गरेका हुन् । प्रस्ताव संविधानको धारा ५ विपरित भएको सुरीले बताएका थिए । प्रस्तावबारे मतदान हुने कार्यतालिका थियो ।

विपक्षी राजनीतिक दलहरुले सभामुख असद कैसरविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि सुरीले बैठकको अध्यक्षता गरेका थिए ।

खानविरुद्धको प्रस्ताव खारेज भएपछि क्रुद्ध भएका विपक्षी सर्वोच्च अदालतमा पुगेका थिए । अदालतले यसबारे आज सुनुवाई गर्दैछ । एजेन्सी


Author

थप समाचार
x