विश्व

पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउन बाइडनको आग्रह

इकागज |
चैत २२, २०७८ मंगलबार १०:४७ बजे

काठमाडौँ- अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउन आग्रह गरेका छन् । युक्रेनमा रुसी सेनाले गरेको अत्याचारका प्रमाणहरू बाहिर आएपछि अमेरिकी राष्ट्रपति बाइडनले रुसी राष्ट्रपति पुटिनमाथि युद्ध अपराधको मुद्दा चलाउन आग्रह गरेका हुन् ।

युक्रेनको राजधानी किभ नजिकैको सहर बुचामा रुसी सेनाले सर्वसाधारणको हत्या गरेको भन्दै विश्वव्यापी रुपमा रुसमाथि आक्रोश बढिरहेको छ । बाइडनले रुसी राष्ट्रपति पुटिन निर्दयी भएको तथा उनीमाथि युद्ध अपराधको मुद्दा चलाउनुपर्ने बताए । 


अमेरिकी अधिकारीहरूले भने युक्रेनको बुचामा प्रमाण संकलनका लागि जाने अन्तर्राष्ट्रिय अभियोजनकर्ताको टोली सहयोग गरिरहेको जनाए । 

युक्रेनले किभ वरिपरि ४ सय १० जना सर्वसाधारणको शव फेला पारेको जनाएको छ । तर रुसले भने युक्रेनले विनाप्रमाण सर्वसाधारणको हत्याको गरिएको आरोप लगाइरहेको दाबी गरेको छ । 
 


Author

थप समाचार
x