विश्व

ब्राजिलमा कोभिडबाट एकै दिन १ हजार २०० भन्दा बढीको मृत्यु

इकागज |
चैत ९, २०७७ सोमबार १२:३४ बजे

साओ पाओलो : ब्राजिलमा कोभिड-१९ को संक्रमणबाट एकै दिनमा एक हजार २९० जनाको ज्यान गएको बताइएको छ । आइतबार यहाँका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँ एकै दिनमा १ हजार २९० जनाको यस संक्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या २ लाख ९४ हजार भन्दा बढी पुगेको बताइएको छ । ब्राजिलका स्वास्थ्य अधिकारीहरूले आइतबार सो कुरा बताएका छन् । 

यसैगरी आइतबार सम्ममा यहाँका १ करोड १९ लाख ९८ हजार भन्दा बढी व्यक्ति संक्रमित हुन पुगेको पनि स्वास्थ्य क्षेत्रका अधिकारीहरूले जानकारी दिएका छन् । ब्राजिलको स्वास्थ्य मन्त्रालयले आइतबार दिएको जानकारीमा पछिल्लो समयमा मृत्यु हुने प्रतिशत पनि दिन प्रतिदिन बढ्दै गएको छ । कोरोनाको नयाँ प्रजातिको भाइरसको पनि प्रकोप देखिएको ती अधिकारीले जनाएका छन् । 


ब्राजिलका स्वास्थ्य अधिकारीहरूले दिएको जानकारीअनुसार यहाँका प्रति एक लाख जनामा ५ हजार ४८२ जनामा यो संक्रमण हुने गरेको छ । त्यस्तै यहाँका प्रति एक लाख जनसंख्या संक्रमणमा कम्तीमा पनि १३३ जनाको ज्यान जाने गरेको पनि बताइएको छ । 

ब्राजिलको साओ पाओलो शहर सुरुदेखि नै यो संक्रमणको एक किसीमले केन्द्रबिन्दुको रूपमा रहेको पनि पाइएको छ । यस शहरका स्वास्थ्य संस्थाहरू भरिएका छन् भने ती संस्थाका करिब ९१ प्रतिशत जति आकस्मिक कक्षहरू पनि भरिएका पाइएको छ ।

त्यसैगरी यसअघि यहाँको मृत्यु दर पनि पहिले ६० वर्षभन्दा माथिका नागरिकको बढी रहेकोमा पछिल्लो समयमा भने यहाँ कोरोना संक्रमणबाट ६० वर्षभन्दा कम उमेरका नागरिकको मृत्युको दर बढेको पाइएको पनि बताइएको छ ।  रासस


Author

थप समाचार
x