विश्व

२१ वर्षदेखि बिदा नबसी देशको लागि खटिएको छु : नरेन्द्र मोदी

इकागज |
चैत १०, २०७७ मंगलबार २०:४८ बजे

काठमाडौँ :  भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आफू २१ वर्षदेखि बिनाबिदा देश र जनताका लागि क्रियाशील भएको दाबी  गरेका छन् । भारतीय जनता पार्टी (भाजपा) को मङ्गलबार बसेको बैठकमा बोल्ने क्रममा उनले आफू गुजरातको मुख्यमन्त्री भएदेखि अहिलेसम्म कहिल्यै बिदा नलिएको बताएका हुन् । 

उनले आफूले झैँ बिनाबिदा जनताको सेवामा निरन्तर क्रियाशील हुन सांसदहरुलाई पनि  निर्देशन दिएको केन्द्रीय मन्त्री अर्जुन राम मेघवालले जानकारी दिए । 


‘मैले कोरोनाभाइरसको महामारीका बेलामा पनि कुनै कमी नगरी लगातार सेवामा लागि रहेँ, विश्व नै थिलोथिलो भइरहेका बेला पनि भारतले त्यो चुनौतीलाई प्रभावकारी तरिकाले व्यवस्थापन गर्न सफल भयो’ उनले भने ।  

मोदीले  विश्वका ११० देशका नेताहरुले भारतमा कोरोनाभाइरसको महामारीको व्यवस्थापन राम्रो भएको स्वीकार गरेको दाबी पनि गरे । मोदीले देशका करोडौँ जनताको जीवन जोगाउने कुरा सानोतिनो चुनौती नभएको पनि बताए । साधारण चुनौतीलाई निरन्तरको क्रियाशीलता र सेवा भावनाले नै जित्न सकेको प्रधानमन्त्री मोदीको भनाइ थियो ।  प्रधानमन्त्री मोदीले त्यहीअनुसारको क्रियाशीलता र सेवाको भावनाका साथ संसद्मा नियमित उपस्थित हुन र जनताको काम गर्न पटक पटक जोड दिए ।  रासस-एएनआई


Author

थप समाचार
x