विश्व

इटलीका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनी अस्पताल भर्ना

इकागज |
चैत ११, २०७७ बुधबार २१:२१ बजे

रोम  : इटलीका पूर्वप्रधानमन्त्री सिल्भियो बेर्लुस्कोनी फेरि अस्पताल भर्ना भएका छन् । अदालतमा सुनुवाइ चलिरहेका बेला उनलाई बुधबार फेरि अस्पताल भर्ना गर्नुपरेको उनका वकिलहरूले जानकारी दिएका छन् ।

“गत सोमबारदेखि नै उनलाई स्वास्थ्यमा समस्या देखिएको थियो, त्यसपछि उनलाई अस्पताल भर्ना गरिएको छ,” मिलानमा भएको सुनुवाइका क्रममा उनका वकिल फेडेरिको सेक्केनीले भने । 


सन् १९८० को दशकदेखि इटलीमा प्रभावशाली व्यक्तिका रूपमा रहेका बेर्लुस्कोनी इटलीको तीन पटक प्रधानमन्त्री बनेका थिए ।  उनी सञ्चार उद्यमीसँगै अरू धेरै व्यवसायिक संलग्‍नताका कारण देशमा प्रभावशाली बन्दै राजनीतिक नेतृत्वमा आएका हुन् ।  

लामो समय देशमा निर्णायक जस्तै बन्दै आएका बेर्लुस्कोनी पछिल्लो केही समयदेखि अस्वस्थ भएका छन् । उनी अहिले ८४ वर्ष पुगे । सन् २०१६ मा उनको मुटुको शल्यक्रिया गरिएको थियो । गत सेप्टेम्बरमा पनि उनलाई ११ दिन अस्पताल राख्नु परेको थियो । उनलाई त्यतिबेला कोरोनाभाइरसको सङ्क्रमणसमेत पुष्टि भएको थियो ।  

उनको उपचारमा संलग्‍न चिकित्सक र उनका सहयोगीहरूले बेर्लुस्कोनीको अवस्था स्थिर नै रहेको र चिन्ता गर्नु नपर्ने बताएका छन् । शक्ति र स्रोतको दुरूपयोग गरेको र आर्थिक अनियमितता गरेको आरोप लागेका पूर्वप्रधानमन्त्री बेर्लुस्कोनीमाथि अहिले अनुसन्धान भइरहेको छ । (रासस)


Author

थप समाचार
x