विश्व

दशकौं राज गरेका राजापाक्ष सत्ताबाट मात्र होइन समाजबाटै च्युत

इकागज |
बैशाख २९, २०७९ बिहीबार १९:१६ बजे

कोलम्बो– श्रीलंकाका निवर्तमान प्रधानमन्त्री महिन्दा राजापाक्षको भिल्ला जलाएपछि पनि उनलाई पछ्याउन छाडेका छैनन् । सोमबारदेखि भड्केको हिंसाले राजधानी कोलम्बो र आसपासका जिल्लाहरूमा विकराल रूप लिएको छ । हिंसा सुरु भएपछि प्रधानमन्त्री महिन्दा राजापाक्ष राष्ट्रपतिलाई राजीनामा बुझाएर सत्ताबाट बाहिरिसकेका छन् । राष्ट्रपति गोताबाय राजापाक्षले दाजु समेत रहेका प्रधानमन्त्री महिन्दाको राजीनामा स्वीकृत गरी नयाँ प्रधानमन्त्री नियुक्त गर्ने प्रक्रिया अघि बढाएका छन् । 

प्रदर्शनकारीहरूले राष्ट्रपतिको समेत राजीनामा मागिरहेका छन् । राजापाक्षको हाम्बान्टोटा जिल्लाको बिराकेटियामा रहेको भिल्ला प्रदर्शनकारीले जलाइदिएका छन् भने उनले प्रयोग गर्दै आएको मोटर भीडले तालमा फालिदिएको थियो । 


राजापाक्ष परिवारले आफ्नो निर्वाचन क्षेत्र हाम्बान्टोटाको बिराकेटियामा भव्य भिल्ला बनाएको थियो । जहाँ उनका पिताप्रति समर्पित संग्रहालय समेत थियो, उक्त संग्रहालय पनि ध्वस्त पारेका छन् । अहिले निवर्तमान प्रधानमन्त्री राजापाक्ष सैनिकको बलियो घेरामा लुकेका छन् । उनीमाथि प्रदर्शनकारीहरूले निशाना साँधिरहेका छन् । कतिपयले देश नै छाडेर भागेको भन्ने हल्ला पनि चलाइरहेका छन् । तालिबानले अफगानिस्तान कब्जा गरेपछि त्यहाँका राष्ट्रपति असरफ घानी देश छाडेर भागेझैं राजापाक्ष पनि भागिसकेको हल्ला चलाइएको छ । 

चरम आर्थिक संकटमा डुबेको श्रीलंकाको ‘बेलआउट’का लागि प्रयास भैरहेको छ । तर अस्थिरता र द्वन्द्वका कारण स्थिति नियन्त्रण बाहिर गएमा मुलुकले ठूलो क्षति व्यहोर्नुपर्ने भन्दै राष्ट्रपति गोताबायले चाँडै नै संसदको सर्वस्वीकार्य व्यक्तिलाई प्रधानमन्त्री नियुक्त गर्ने उद्घोष गरेका छन् । नयाँ प्रधानमन्त्री नियुक्तीसँग राष्ट्रपतिको कार्यकारी अधिकार खारेज गर्ने गोताबायको प्रतिवद्धता सार्वजनिक भएको छ । 

श्रीलंकामा दशकौंसम्म सबैभन्दा शक्तिशाली राजनीतिज्ञ राजापाक्ष श्रीलंकामा गृह युद्ध अन्त्य गरेसँगै श्रीलंकाली जनताका सबैभन्दा प्रिय बनेका थिए । तिनै ७६ वर्षे राजापाक्ष अहिले समाजबाट च्युत बनेका छन् । 

कोभिड–१९ महामारी र आर्थिक अव्यवस्थापनबाट सिर्जित आर्थिक संकटले श्रीलंकासँग इन्धन, औषधी र अन्य अत्यावश्यक वस्तु आयात गर्न विदेशी मुद्राको अभाव भएको छ । बाह्य ऋण तिर्न नसकेर श्रीलंकाले अप्रिल महिनादेखि नै हात उठाइसकेको हो । त्यहाँ उर्जाको अभावमा विद्युत कटौती र इन्धन बिक्री गर्ने स्टेशनहरूमा लामो लाइन लागेको छ । खाद्यवस्तुको मूल्य आकाशिएको छ । 

श्रीलंकामा मार्चदेखि नै शान्तिपूर्ण प्रदर्शनहरू हुँदै आएका थिए । उनीहरूले प्रधानमन्त्री महिन्दा राजापाक्ष र उनका भाइ राष्ट्रपति गोताबाय राजापाक्षको राजीनामा माग गर्दै आएका थिए । सोमबारको प्रदर्शन भने अचानक हिंसात्मक बन्न पुग्यो । जसमा सांसदसहित ९ जना मारिएका छन् भने ३०० जना घाइते भएका छन् । राजापाक्ष समर्थक र विरोधीबीचको झडपले उग्र रूप लिएपछि हाताहाती समेत भएको थियो । 

श्रीलंकामा सन् २००९ मा सशस्त्र द्वन्द्व अन्त्य भएपछिकै यो सबैभ्न्दा ठूलो हिंसात्मक प्रदर्शन हो । सानो दक्षिण सहर बिरकेटियामा महिन्दा राजापाक्षले परिवारसँग समय बिताउने गर्थे । राजापाक्षले प्रधानमन्त्रीबाट राजीनामा दिए लगत्तै सोमबार सयौं मानिसहरूको भीडले उनको भिल्लामा आक्रमण गरेको थियो । अगाडिपट्टीको घरमा परिवारका संकलनहरू र स्पोर्ट ट्रफीहरू संग्रह गरिएको थियो, जुन तोडफोड र आगलागी गरिएको छ । 

सरकार विरोधी प्रदर्शनकारीहरूले उनीहरूले ‘गोता (गोताबाय) घर फर्क’ भनेर नारा लगाएका थिए । घरका भित्तामा पनि सोही नाराहरू लेखिएका छन् । महिन्दा राजापाक्षको शयनकक्षका झ्यालका सीसाहरू फोडिएका छन् । उक्त भिल्लामा महिन्दाका भौतिक सम्पत्तिलाई नै लक्षित गरेर आक्रमण गरिएको बताइएको छ । 
यतिसम्म कि घाइते भएका राजापक्षका दौंतरीहरू आक्रमण हुने डरले उपचारका लागि अस्पताल जान समेत डराइरहेका छन् । उनीहरूलाई अस्पतालमा आक्रमणकारीमात्र होइन, चिकित्सक र नर्सको समेत विश्वास छैन । 

प्रश्नको घेरामा श्रीलंकाको भविष्य 

सन् १९४८ मा बेलायती उपनिवेशबाट स्वतन्त्र भएयताकै ठूलो संकटबाट श्रीलंका गुज्रिरहेको छ । यो आर्थिक संकटले राजापाक्षको भविष्यलाई मात्र होइन, देशकै भविष्यलाई अनिश्चिततामा पारेको छ । हाम्बान्टोटाका जमिनदार राजापाक्षकोसन् २००४ मा श्रीलंकाको प्रधानमन्त्री भएपछि भाग्योदय भएको हो । सन् २००५ मा उनले राष्ट्रपतिको निर्वाचनमा विजय हासिल गरे । 

सन् २००५ मा महिन्दा राजापाक्ष राष्ट्रपति र उनका भाई गोताबाय राजापाक्ष रक्षामन्त्री भएको समयमा देशको उत्तर र पूर्वमा दशौं हजार तामिल पृथकतावादीलाई क्रुरतापूर्वक हत्या गरिएको थियो ।

श्रीलंकाली जनताले सन् २०१५ मा महिन्दालाई तेश्रो कार्यकाल राष्ट्रपति अस्वीकार गरेका थिए । तर सन् २०१९ मा उनको परिवार पुनः सत्तामा आयो र उनका भाइ गोताबाय राष्ट्रपति बने । सोमबार बिराकेटियामा भीडले सबैभन्दा पहिले स्थानीय विधायकको कार्यालयमा आक्रमण गरेको थियो र प्रतिवादमा प्रहरीले गोली हानेपछि हिंसा भड्किएको थियो । सिपाही र प्रहरीको मोर्चालाई सार्वजनिक सम्पति तोडफोड र बिगार गरेको पाएमा साथै कसैलाई आक्रमण गर्ने धम्की थिएको पाएमा गोली हान्ने अधिकार दिइएको थियो । 

भिल्लाबाट महिन्दा र गोताबायमा स्वर्गीय बाबु डिए राजापाक्षप्रति समर्पित संग्रहालय, उनको शालिक रहेको स्मारक बगैंचामा प्रदर्शनका सामग्री नष्ट बनाई भित्री भागमा प्रवेश गरेका थिए । सत्तारुढ दलका सांसदको घरसँग जोडिएका घर र पसलहरूमा ठूलो क्षति पुगेको छ । 

केही स्थानीयहरूले अझै पनि राजापाक्ष दाजुभाइलाई सहयोग गरिरहेका छन् । बौद्धमार्गी सिंहालीहरू बहुसंख्यक रहेको श्रीलंकामा राजापाक्षे दाजुभाई तामिलको सशस्त्र विद्रोह समाप्त गरेर सिंहालीहरूका नायक बनेका थिए ।

सांसद समेत रहेका राजापाक्ष दाजुभाइका पिता डिए राजापाक्षको शालिक तोडफोड भएकोमा बिराकेटियाका स्थानीय दुःखी बनेका छन् । उनीहरूले श्रीलंकामा गृहयुद्ध समाप्त गर्ने दाजुभाइका पिताको शालिक तोडफोड हुनु र उनीहरूमाथि आक्रमण हुनु दुर्भाग्य भएको स्थानीयको भनाई छ । श्रीलंकालीहरू तामिल पृथकतावादीलाई सफाया गर्ने नायक राजापाक्ष जस्तै यो संकटबाट देशलाई उद्दार गर्ने नायकको पर्खाइमा छन् । 

याे पनि पढ्नुहोस् 

शासकीय उन्मादको बोझ थेग्‍न नसकेर थलिएको श्रीलंका

श्रीलंका : लोकरिझ्याइँ, परिवारवाद र भ्रष्टाचारले पहिला आराम, पछि नीद हराम

रणिल बिक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त

 


Author

थप समाचार
x