विश्व

श्रीलंकाका नयाँ प्रधानमन्त्रीले भने, ‘आगामी दुई महिना सबैभन्दा कठिन’

इकागज |
जेठ ३, २०७९ मंगलबार ८:३२ बजे

काठमाडौँ– श्रीलंकाका नवनियुक्त प्रधानमन्त्री रणिल विक्रमासिंघेले देशको विद्यमान आर्थिक अवस्थाबारे जानकारी दिदैं देशबासीलाई सम्बोधन गरेका छन् । सम्बोधनमा उनले आगामी दुई महिना श्रीलंकाका लागि सबैभन्दा कठिन समय हुने बताएका छन् । 

‘म आम जनतासँग केही पनि कुरा लुकाउन चाहान्नँ, जनतालाई ढाँट्न चाहान्न,’ उनले भने, ‘यद्यपि यी तथ्यहरू अत्यासलाग्दा छन्, तर यो नै हाम्रो वास्तविकता हो ।’
सरकारी राजस्व १६०० अर्ब श्रीलंकन रुपैयाँ छ भने सरकारको खर्च ४००० अर्ब तथा बजेट घाटा २४०० अर्ब रुपैयाँ छ । बजेट घाटा कुल गार्हस्थ उत्पादनको १३ प्रतिशत रहेको उनले बताए । सार्वजनिक ऋणको सीमा १९५० अर्ब छ र मे महिनाको दोस्रो सातासम्म स्वीकृत ऋणको सीमा ३२०० अर्ब रुपैयाँ छ । 


विदेशी मुद्राको सञ्चिति सन् २०१९ नोभेम्बर महिनासम्म ७.५ अर्ब अमेरिकी डलर रहेकोमा अहिले श्रीलंकाको ढुकुटीमा १० लाख अमेरिकी डलर मात्र छ । 

इन्धन खरिदका लागि लागिरहेको लाइनको चाप कम गर्न श्रीलंकालाई ७ करोड ५० लाख डलर चाहिएको छ । हामीसँग एक दिनका लागि मात्र पेट्रोल भण्डारण रहेको छ  । ‘हिजोमात्रै हामीले डिजेल आयात गर्ने प्रबन्ध मिलायौं, भारतको क्रेडिट लाइन अन्तर्गत डिजेलको अर्को सीपमेन्ट मे १८ तारिख र जुन १ मा तय भएको छ,’ उनले भने, ‘त्यस्तै पेट्रोलको सीपमेन्ट १८ र २९ तारिखमा प्राप्त हुँदैछ । यी सिपमेन्टलाई भुक्तानी गर्नका लागि खुला बजारबाट डलर प्राप्त गर्ने प्रक्रिया अघि बढाइएको छ ।’
श्रीलंकामा एक तिहाई विद्युत् इन्धनबाट उत्पादन हुने गरेको भन्दै प्रधानमन्त्री बिक्रमासिंघेले विद्युत् कटौती दिनमा १५ घण्टासम्म लम्बिनसक्ने उनले बताए । उनले आगामी ४० दिनमा ३ जहाज कच्चा तेल र फर्नेस आयल श्रीलंकाको समुद्रीमार्गमा जहाजका लागि प्रबन्ध गरिएको बताउँदै यो संकट पार लगायन पैसा प्राप्त भएको पनि उल्लेख गरे । 

त्यस्तै, खाना पकाउने ग्यासका लागि श्रीलंकालाई तत्कालै २ करोड डलर चाहिएको भन्दै उनले आज (मंगलबार)सम्म ग्यास आयातका लागि पैसा पठाउने गरी तयारी भएको बताएका छन् । 

औषधी तथा चिकित्सा उपकरणका लागि झन्डै ३४ अर्ब रुपैयाँको भुक्तानी बक्यौतामा चार महिनाका लागि औषधी, स्वास्थ्य उपकरण र बिरामीका लागि खाना उपलब्ध गराई औषधी र चिकित्सा सामग्रीको चरम अभावको अवस्था सम्बोधन गरिने र समस्या समाधानका दीर्घकालीन उपाय पनि खोज्ने उनले उल्लेख गरेका छन् 

बिरासिंघे गत साता बिहीबार प्रधानमन्त्री नियुक्त भएका हुन् । उनले आफू राजनीतिक नेतामात्र नभएर राष्ट्रिय नेता भएको र श्रीलंकाप्रति आफ्नो ठूलो जिम्मेवारी रहेकाले कठिन समयमा सरकारको नेतृत्व लिएर श्रीलंकामा जारी संकट पार लगाउन तल्लीन रहेको बताएका छन् । विद्यार्थी जीवनमा कोलम्बो विश्वविद्यालयमा निःशुल्क शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गरेका उनले आफू राष्ट्रपति ऋणी रहेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीका रूपमा रणिल बिक्रमासिंघेको यो पाँचौ कार्यकाल हो । मार्च महिनादेखि श्रीलंकाको संकट प्रष्ट रूपमा देखिन थालेको थियो भने अप्रिल महिनामा आएर उसले बाह्य ऋण तिर्न नसकिने भन्दै हात उठाएपछि श्रीलंकाली अर्थतन्त्रको कठिन अवस्थाले त्यहाँ ठूलो तरंग सिर्जना भएको थियो ।

त्यसयता श्रीलंकामा सरकार विरोधी प्रदर्शन, आन्दोलन र हिंसात्मक घटनाहरू समेत भइरहेका छन् । अघिल्लो साता सोमबार तत्कालीन प्रधानमन्त्री महिन्दा राजापाक्षले हिंसात्मक आन्दोलन चर्किएपछि राजीनामा गरेका थिए । त्यसपछि राष्ट्रपति गोताबाय राजापाक्षले अनुभवी राजनीतिज्ञ बिक्रमासिंघेलाई बिहीबार प्रधानमन्त्री नियुक्त गरेका थिए । 

याे पनि पढ्नुहोस् 

शासकीय उन्मादको बोझ थेग्‍न नसकेर थलिएको श्रीलंका

दशकौं राज गरेका राजापाक्ष सत्ताबाट मात्र होइन समाजबाटै च्युत

श्रीलंका : लोकरिझ्याइँ, परिवारवाद र भ्रष्टाचारले पहिला आराम, पछि नीद हराम

रणिल बिक्रमासिंघे श्रीलंकाको नयाँ प्रधानमन्त्री नियुक्त

(श्रीलंकाली प्रधानमन्त्रीले देशको अर्थतन्त्रबारे गरेको सम्बोधन)


Author

थप समाचार
x