शिरोधारा - तनाव कम गराउने आयुर्वेदिक विधि

व्यस्त जीवनशैली र बदलिँदो सामाजिक परिवेशले हामी धेरैजसो मानिस व्यस्त रहने गर्छौ । व्यस्तताको कारणले कुनै न कुनै मानसिक तनाव वा फरक खालको महसुस गरेकै हुन्छौ । यस्तै तनावले मानिसहरूले विभिन्न स्वास्थ्य समस्याको संकट भोगिरहेका हुन्छन् ।
हिजोआजको भागदौड,कार्यालय र घर आदिको व्यस्तताले मानिस व्यस्त रहने गरेका छन् । कतिपय अवस्थामा आफूले आफूलाई समय दिन पाएका हुँदैनन् । आफ्नै कामको तनाव र विविध कारणले आफूलाई समय दिन पाएका हुँदैनन् ।
तनावकै कारण विशेष गरी एन्जाइटी तथा डिप्रेसनको समस्या अधिकांशमा देखिन थालको छ । शिरोधारा एक प्रकारको मानसिक थकान र तनाव दूर गर्ने आयुर्वेदिक तरिका हो।
के हो शिरोधारा ?
शिरोधारा’ संस्कृतका दुई शब्दहरूबाट आएको हो, जहाँ ‘शिरो’ को अर्थ ‘टाउको’ र ‘धारा’ को अर्थ ‘केही खन्याउनु वा बगाउनु’ हो।
यसमा औषधियुक्त तेल वा अन्य औषधियुक्त झोललाई निरन्तर धाराका रुपमा निश्चित समयसम्म निधारमा बगाइन्छ। विशेष गरेर मनतातो औषधियुक्त तिलको तेल, दुध वा मोही जस्ता तरल पदार्थ रोगको प्रकृति र बिरामीको अवस्थाअनुसार प्रयोग गरिन्छ।
उदाहरणका लागि अनिद्रा भएको बिरामीमा मनतातो दूधको शिरोधाराले निकै राम्रो प्रभाव पार्छ। प्राकृतिक चिकित्सामा शिरोधारालाई शारीरिक र मानसिक स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ।
शिरोधाराबाट कसलाई फाइदा हुन्छ?
टाउकोमा हल्का मालिससँगै तातो तेल निरन्तर खन्याउनाले टाउकोको मांसपेशीहरूमा एक प्रकारको हलचल पैदा गर्छ। टाउको वरिपरिका विभिन्न महत्त्वपूर्ण बिन्दुहरूलाई पनि उत्तेजित गर्छ र रक्तसञ्चारमा सुधार गरी एड्रेनाइन र नोराड्रेनालाइन जस्ता तनाव हर्मोनको स्तर कम गर्छ ।
जसले एकाग्रता बढाउन, गहिरो र मीठो निद्रा ल्याउन , माइग्रेन वा टाउको दुख्ने समस्याको समाधान गर्छ । शिरोधाराले शरीर, मन र आत्माको गहिरो अन्तरसम्वन्धलाई पूर्नताजगी गराएर रोगबाट निरोग र निरोगबाट स्वस्थ्य बनाउँछ ।
फलतः शिरोधाराले स्वस्थ व्यक्तिको स्वास्थ्यलाई सन्तुलित राख्छ भने रोगका अवस्थामा पनि अत्यन्त उपयोगी हुन्छ। शिरोधाराका फाइदाहरु शिरोधाराले मनलाई शान्त पार्ने, तनाव र चिन्ता कम गर्ने, स्मरणशक्ति बढाउने, कपाल झर्ने कम गर्न मद्दत गर्छ भने टाउको दुख्ने समस्या, पिनास, माइग्रेन, भय, उदासिन्ता, स्मृतिनास, मस्तिष्क सम्बन्धी रोगहरूमा अत्यन्त लाभदायक हुन्छ। त्यसैगरी मनोशारीरिक रोगहरु जस्तै उच्च रक्तचाप, मधुमेह, प्रमेह, स्वरियसिस, दम र शरीरको ऊर्जा सन्तुलन गर्ने आदिमा फाइदा पुर्याउँछ ।
शिरोधारा गर्नै तरिका शिरमा तेल चुहाउनु भन्दा पहिले टाउकोमा हलुका मालिस गरिन्छ र आरामपूर्वक विशेष किसिमको धारा टेबलमा सुताइन्छ। मनतातो औषधियुक्त तेल धातुको वा माटोको भाँडामा राखेर भाँडाको टुप्पामा रहेको प्वाल शिरभन्दा केही माथि निधारमा पर्ने गरी निरन्तर धारा जस्तै तरिकाले चुहाइन्छ।
तेलको तापक्रम एकनासको हुनुपर्छ र तेल आँखा वा कानमा नपरोस् भनेर सावधानी अपनाउनुपर्छ। बिरामीको अवस्था अनुसार सम्पूर्ण प्रक्रिया आधा घण्टा देखी एक घण्टा सम्मको हुन्छ। शिरोधारा दिएको आधा वा एक घन्टापछि मनतातो पानीले नुहाउन सुझाइन्छ।
कस्तो तेल प्रयोग हुन्छ?
रोगको प्रकृति र रोगीको अबस्था हेरेर तेल, घ्यु, दुध, मोही, वा सादा पानी जस्ता पदार्थलाई सिधै अथवा आयुर्वेदिक औषधिहरु मिलाएर शिरोधारा दिइन्छ । स्वस्थ्य व्यक्तिको लागि भने केही नराखीकन सादा तेलको धारा दिइन्छ । तेलहरुमा तिलको तेल व्यापक रूपमा प्रयोग गरिन्छ । यो अपेक्षाकृत तटस्थ तेल हो र अरु तेलहरूसँग सजिलो र राम्रोसँग मिसिन्छ । प्रयोग गर्न सकिने अन्य तेलहरूमा नरिवलको तेल, क्षीराबालाको तेल, महानारायणको तेल, बटर (घिउ) , मोही, नरिवलको पानी तथा दूध पर्दछ । आयुर्वेदिक जडीबुटी कुन तरल पदार्थमा मिसाइएको हो भन्ने आधारमा यसलाई तक्राधारा, तेलधारा, कश्यधारा र जलधारा पनि भन्न सकिन्छ।
कहिले र कति पटक गर्ने ?
शिरोधारा गर्ने सबैभन्दा उत्तम समय बिहान वा बेलुका हो। तर आवश्यकता अनुसार जुनसुकै समय र सिजनमा पनि शिरोधारा दिन सकिन्छ। शिरोधारा उपचार दिनमा लगभग ३० देखि ६० मिनेटसम्म गरिन्छ। उपचार सामान्यतया ७ देखि १४ दिनको अवधिको लागि हुन्छ।
कुनै स्वास्थ्य समस्या नभई आरामका लागि मात्र हो भने सातामा वा महिनामा एक पटक गर्दा हुन्छ । स्वास्थ्य समस्या छ भने राम्रो नतिजाका लागि दैनिक रुपमा केही साता गर्नुपर्ने हुनसक्छ ।समय अवधिको निर्धारण बिरामीको उमेर, दोष स्थिति, चिन्ता र गम्भीरता अनुसार गरिन्छ।
कस्तो अवस्थामा शिरोधारा गर्नहुँदैन गर्भावस्थाको अन्तिम चरणमा रहेका महिलाहरू, तेलको एलर्जी , लागूऔषध वा रक्सीको लत भएको, भर्खरै ब्रेन सर्जरी गरेका, ब्रेन ट्युमर भएका, टाउकोमा घाउ–चोटपटक लागेका, ज्वरो आएका वा सहज पसिना आउने समस्याबाट पीडित भएकाहरूले नगर्नु नै उपयुक्त हुन्छ ।
के यसको कुनै साइड इफेक्ट छ?
सामान्यतया शिरोधारा सुरक्षित उपचार हो। यो प्राचीन कालदेखि नै गरिँदै आएको हुनाले अहिले सम्म उपचारसँग सम्बन्धित कुनै गम्भीर साइड इफेक्टहरू रेकर्ड भएको छैनन्। यद्यपि केही मानिसहरूलाई टाउकोमा भारीपनको अनुभूति हुन सक्छ। केही मानिसहरूलाई अलिकति चक्कर आउन सक्छ । शिरोधाराको क्रममा तेल धेरै तातो हुनु हुँदैन र तेल आँखा वा कानमा नपुगोस् भनेर उचित सावधानी अपनाउनुपर्छ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया