वातावरण दिवसमा साईकल र्याली
मकवानपुर । सप्ताहव्यापी रूपमा विश्व वातावरण दिवसका मनाउने सन्दर्भमा आज हेटौंडामा वातावरणीय सचेतनामूलक सन्देश सहितको साइकल र्याली गरिएको छ।
हेटौंडा उपमहानगरपालिका कार्यालयबाट सुरु भएको साइकल र्‍यालीले हेटौंडा बजार परिक्रमा गरेको थियो । टोल विकास संस्था नगर समन्वय समितिको हेटौंडा उपमहानगरपालिकाको आयोजनामा कार्यक्रम गरिएको हो । उपमहानगरपालिका कार्यालयबाट सुरु भएको र्याली चौघडा, हटिया, रातोमाटे, बजार क्षेत्र हुँदै पुन उपमहानगरपालिका कार्यालयमा आएर समापन गरिएको थियो ।
उपमहानगरपालिका प्रमुख मीना कुमारी लामाले साइकल र्यालीको उद्घाटन गरेकी थिइन्।
कार्यक्रममा हेटौंडा–२ का वडा अध्यक्ष बिष्णु गोपाल महर्जन, उपमहानगरपालिका सामाजिक विकास महाशाखा प्रमुख विष्णु कुमारी लामिछाने लगायतकाको आतिथ्यता रहेको थियो । टोल विकास संस्था नगर समन्वय समिति हेटौंडाका अध्यक्ष ध्रुव अधिकारीले हरेक बर्षको जेठ २२ गते विश्व वातावरण दिवसलाई सप्ताहव्यापी रुपमा वातावरण संरक्षणका विविध कार्यक्रमको आयोजना गरेर मनाउने गरेको बताए । भोलि बृहत र्याली तथा झाँकी सहित वातावरण संरक्षण बारे जनचेतना र्याली गर्ने तयारी भएको अध्यक्ष अधिकारीले बताए ।
हेटौंडा उपमहानगरपालिका भित्रका ४ सय बढी टोल विकास संस्था, सामाजिक संघसंस्था तथा वन समितिहरूले र्यालीमा सहभागिता जनाउने छ । दिवसकै अवसरमा जनप्रतिनिधि सहितको टोलीले हेटौंडाको बसपार्क सरसफाइ पनि गरेका थिए ।