फोटो फिचर

(भिडियोसहित)

शालिनदीमा जे देखियो (फोटो भिडियोसहित)

शुरज थपलिया |
माघ २८, २०८० बजे

तस्विर

काठमाडौँ - साँखु बजारबाट पूर्वतर्फ प्रसिद्ध धर्मिक, सांस्कृतिक नदी छ । सो नदीको नाम शालिनदी हो । यसको स्वस्थानी व्रत कथामा वर्णन गरिएको छ । प्रसिद्ध नदीकै नामबाट यो क्षेत्र शालिनदी क्षेत्रले चिनिन्छ । शालिनदी श्रीस्वस्थानी देवीको पावन पीठ हो । 

शालिदनी दर्शन गर्न जानेको सवारी जाम


पौष शुक्ल पूर्णीमादेखि माघ शुक्ल  पूर्णीमासम्म यहाँ श्रीस्वस्थानी देवीको व्रत उपासना गरिन्छ । स्कन्द पुराण, केदार खण्डका अनुसार हरेक हिन्दु धर्मावलम्बीहरूका घरघरमा श्री स्वस्थानी देवीको व्रत उपासना गर्ने, स्वस्थानी कथा भन्ने, सुन्ने चलन छ । स्वस्थानी व्रत कथाका अनुसार सत्य युगमा हिमालय पुत्री पार्वतीले महादेवलाई पति पाउन यो व्रत गरेकी थिइन् ।

शालिदनी दर्शन गर्न जानेको भिड

माघस्नान गर्ने क्रममा शालिनदीमा स्नान गरी नजिकै रहेका हरिहरको पूजा आराधना र स्वस्थानी देवीको पूजा गरेमा इच्छा गरेको फल प्राप्त हुने जनविश्वास छ ।  शालिनदीको जल अर्चन गरेमा पनि शरीरको रोग निको हुने, आरोग्य प्राप्ति हुने, तनमा कान्ति र मनमा शान्ति प्राप्त हुने किंवदन्ती छ । परापूर्वकालमा यहीँ व्रत उपासना गरेर कुरूप भएकी चन्द्रावतीले सुन्दर वदनयुक्त शरीर प्राप्त गरेकी थिइन् ।

शालिनदीमा स्नान गरेर चन्द्रावतीले गुमेका आफ्ना पति नवराजलाई पाएकी थिइन् । शरीरमा नवकान्ति प्राप्त गरेर नजिकै रहेको लावण्य देशकी रानी भएकी थिइन् । गोमा नामकी ब्राह्मणीले हराएको आफ्नो पुत्र नवराज प्राप्त गरेकी थिइन् । विछोड भएका नाग-नागिनीको पुनर्मिलन भएको थियो । धनधान्य र आफ्नो अटल सौभाग्य अनि वैभव प्राप्त गर्न चाहनेहरू श्रीस्वस्थानीको उपासना शालिनदी क्षेत्रमा बसेर गर्ने गर्छन् ।

माघ महिनामा शालिनदी क्षेत्र साँखु शहर नयाँ दुलहीझैं झपक्क सिँगारिएको छ । एक महिनासम्म लागेको मेलाले स्थानीयहरूको व्यापार व्यवसाय फस्टाएको छ । दैनिक शालिनदी नुहाउन आउनेहरूको भिडले स्थानीय उत्पादन, होटल व्यवसाय लगायतको व्यापार राम्रो भएको छ । साँखु जाने सवारी साधनहरुलाई पनि यात्रुहरूको भिड बढेको यातायात व्यवसायीले बताएका छन् । 

यसका बाबजुद पनि शालिनदी मेलामा धेरै समस्या र कठिनाइहरू छन् । शालिनदी आउने सार्वजनिक यातायातमा भिड छ । खुट्टा राख्ने ठाउँ छैन । सार्वजनिक बिदाको दिन सहज रुपमा भक्तजनहरूले दर्शन गर्न सक्दैनन् । तीन किलोमिटर यतादेखि नै गाडीको जाम लाग्ने गरेको भक्तजनहरूको गुनासो छ । यस्ता कमी कमजोरीमा माधवनारायण स्वस्थानी व्रत तथा शालिनदी सुधार समितिको दोष रहेको भक्तजनको आरोप छ । अशक्त, वृद्ध वृद्धा, महिलाहरूलाई शालिनदीसम्म पुग्नै सकस छ ।  समितिले व्यवस्थापन गर्न नसक्दा धेरै व्रतालुहरूले हिँडेरै शालिनदी पुग्ने गरेका छन् । शनिबार त झन शालिनदी पुग्नु भनेको ठूलै युद्ध लडेर सफलता हासिल गरे जस्तै लाग्छ ।  

स्वस्थानी र शालिनदीप्रति नेपाली हिन्दुहरूको अथाह आस्था छ । वर्षेनि लाग्ने यस्ता मेलाले स्थानीय स्तरमा आर्थिक गतिविधि बढाउँछ । धार्मिक पर्यटनलाई बढाउन सहयोग गर्छ । मेलाहरूले स्थानीयको आर्थिक अवस्था त बढाउँछ नै स्थानीय उत्पादनहरूले बजार पनि पाउँछन् । तसर्थ मेलाहरू व्यवस्थित हुन जरुरी छ । भक्तालुहरूले सहजै रुपमा मेला भर्न सकून् । शालिनदी र स्वस्थानी माताको दर्शन गर्न सकुन् । यसवर्षका कमीकमजोरीहरु हेरेर अर्को वर्षको योजना बनाउन स्थानीय समितिहरू अग्रसर हुनुपर्छ । सधैं भद्रगोल गरेर मात्रै स्थानीय स्तरका धार्मिक स्थलहरूको प्रचार हुँदैन । त्यसका लागि बढी भन्दा बढी धार्मिक पर्यटकहरुलाई तान्न जरुरी छ । 

गाेमाको कुटी

मेलामा पूजाका सामग्री

मेलामा खाना

खाद्य सामग्री बिक्रीका लागि राखिएको

हेर्नुहोस् भिडियो



Author
थप समाचार