फोटो फिचर

लाखौँ खर्च गरिएको तीनकुने पार्क जहाँ एउटा पनि फूल छैन [फोटो /भिडियो]

गंगा थपलिया |
जेठ २०, २०८१ बजे

फोटो: गंगा थपलिया/इकागज

काठमाडौँ - काठमाडौँ उपत्यका घरैघरले भरिएको छ । टोल छिमेकमा खुला ठाउँ कतै छैन ।  बिहान साँझ टहलिने पार्क छैन । घना हरियाली छैन । यस्तो लाग्छ माटो ढुंगा, सिमेन्टको चार दिवारभित्र मानिस कसरी श्वास फेर्छ । तर,पछिल्लो समय खोला करिडोरलाई व्यवस्थित बनाउने प्रयास भएको छ । खोला किनारहरू हरियाली देखिन थालेका छन् । रंगीचंगी फूलहरूले खोलामा बगेको फोहोर पानी मुस्कुराइरहे जस्तो लाग्छ । 


खुला ठाउँमा केही सरकारी जग्गा बाँकी छन् । काठमाडौँको तीनकुने पार्क एक ठाउँ हो । तर पार्क भन्ने जस्तो केही छैन । यो एउटा यस्तो पार्क हो जहाँ न एउटा फूल छ ।  तीनकुने लाई लिएर धेरै योजना बने, तर एउटै पनि कार्यान्वयन भएन । तीनकुनेमा पार्क, बगैँचा र मण्डला बनाउने नाममा करोडौं रुपैयाँ खर्च भइसकेको छ । तर, अहिले देखाउन मिल्ने केही छैन । 

२०७६ असोजमा चिनियाँ राष्ट्रपति सी जिनपिङ नेपाल आउने भएपछि तीनकुने मैदानको डिलमा करिब ६५ लाख खर्चिएर दुबो र फूलका बोट लगाइएको थियो । विभिन्न जनावरको प्रतिमा पनि राखिएको थियो । भित्र भद्रगोल नै भएपनि सडकबाट देखिने बाहिरी भाग चिटिक्क बनाइएको थियो । तर, त्यो  तामझाम धेरै टिकेन ।

संरक्षण गर्न नसक्दा रोपिएका फूल र दुबोहरू नै चोरी भए । तीनकुने पार्कको बाहिरी स्वरूप पनि फेरि कुरूप हातलमा नै पुगिसकेको छ । तीनकुनेको बाहिरी डिल उजाड छ । हात्ती, गैंडाका संरचना कहाँ कसले पुर्यायो अत्तोपत्तो छैन ।

तीनकुने पार्कमा फूलहरू छैनन् । तर पनि हेर्न मानिसको भिड लाग्ने गरेको छ । पार्क हेर्न हैन भलिबल हेर्न । त्यहाँ कोही बदाम बेचिरहेका छन् । कोही कुल्फी । कोही क्रिकेट खेलिरहेका छन्, कोही फुटबल, कोही भलिबल । लाग्छ काठमाडौँको खेलकुद मैदान तीनकुने पार्क मात्रै हो ।

र, यो पनि हेर्नुहाेस्



Author
थप समाचार