फोटो फिचर

आहा ! भाङ्गे झरना [फोटो/भिडियोसहित]

सुभद्रा धिताल |
साउन १३, २०८१ बजे

रसुवा- रसुवा जिल्लाको उत्तरगया गाउँपालिका वडा नम्बर २ स्थित भाङ्गे झरनामा पर्यटकको घुइँचो बढ्न थालेको छ । यस जिल्लामा धेरै सानाठूला मनमोहक झरनाहरू छन् । ती झरनामध्ये भाङ्गे झरना एकदमै आकर्षित र मनै लोभ्याउने झरना हो । यो झरना मैलुङ झरनाको नामले पनि प्रख्यात छ ।


'बाहुबली' को उपमा पाएको भाङ्गे झरनाको सुन्दर दृष्य अवलोकन गर्न, गर्मी छल्न रसुवा जिल्लालगायत छिमेकी जिल्ला नुवाकोट, काठमाडौँ र चितवनबाट समेत दैनिक एकदेखि दुई हजार पर्यटक आउने गरेको स्थानीयले बताएका छन् ।

त्रिदेशीय मार्गको ट्रयाक खुलेपछि आवतजावतमा सहज भएको र सामाजिक सञ्जालहरूका कारण चर्चित बनेको प्राकृतिक मनोरमयुक्त यस झरनामा आन्तरिक पर्यटकको भीड नै देखिन्छ ।

शनिबार र बिदाको पर्यटकको आवागमन त हुने नै गर्छ भने अन्य दिन ४ देखि ५ सयभन्दा बढी पर्यटकको आवागमन हुने स्थानीयको भनाइ छ । शनिबारको दिन अन्य दिनको तुलनामा धेरै मान्छेको भीड लाग्ने गरेको छ । बाटोमा आउने जानेहरूको लर्को, पौडी खेल्ने, छाङ्गामा रमाउने, टिकटक, फोटो, भिडियो बनाउनेहरूको बाक्लै उपस्थिति देखिन्छ ।

गर्मी छल्न र प्रकृतिमा रमाउन चाहनेहरूका लागि भाङ्गे झरना उत्तम गन्तव्य हो । यो झरना काठमाडौँबाट झण्डै ७८ किलोमिटरको दूरीमा पर्दछ ।

यो झरना बेत्रावती-मैलुङ-स्याफ्रुबेसी सडक खण्डको नयाँ अन्तर्राष्ट्रिय केरुङ-गल्छी-वीरगंज राजमार्गमा पर्दछ । यो सडक खण्ड खुलेपछि यो झरनाबारे मानिसहरूले थाहा पाएको यहाँका स्थानीयवासीहरू बताउँछन् ।  यो बेत्रावतिबाट जम्मा ५ किलीमिटर उत्तरतर्फ पर्दछ । आधाजसो सडक अहिले पिच भइसकेको छ भने बाँकी सडकमा ग्राबेल गरिएको छ । जान आउन त्यति समस्या भने छैन । बेत्रावती-मैलुङ-स्याफ्रुबेसी सडक पूरा सम्पन्न भइसकेपछि यो स्थानको अझै रौनकता बढ्ने र पर्यटक तान्ने विश्वास स्थानीयले लिएका छन् ।

 

भिडियो:

 



Author
थप समाचार