फोटो फिचर

साउनको अन्तिम सोमबार : तस्बिरमा यस्तो देखियो लड्केश्वर महादेव मन्दिर परिसर

सुभद्रा धिताल |
साउन २८, २०८१ बजे

काठमाडौँ- काभ्रेपलाञ्चोकको पनौती नगरपालिका-११, बल्थलीमा अवस्थित लड्केश्वर महादेव मन्दिर परिसरमा​ आज भक्तजनहरूको भिड लागेको छ ।​ धार्मिक रूपले प्रसिद्ध स्थल लड्केश्वर महादेव मन्दिरमा आज साउनको अन्तिम सोमबार भक्तजनहरूको भिड लागेको हो ।

गुफाभित्र रहेको यस मन्दिरमा भक्तजनले बिहानैदेखि स्नान गरी महादेवको पूजा आराधना गरिरहेका छन् । खोला किनारको गुफामा शिवलिंग अवस्थित छन्, जसको छतबाट निरन्तर जलवर्षा भइरहन्छ ।


मन्दिर नजिकै धर्मद्धार गुफा पनि छ । यहाँ विशेष गरी ठूलो एकादशीमा मेला लाग्ने गर्छ ।

यो मन्दिर एक पर्यटकीय गन्तव्य बोकेको धार्मिक स्थल हो । हेर्दा अति नै मनोरम दृश्य देखिने यस मन्दिर परिसरमा विश्वको सबैभन्दा अग्लो त्रिशूल निर्माण गरिएको छ । यो त्रिशूल १०८ फिट अग्लो रहेको छ ।

प्राकृतिक सुन्दरता र प्राकृतिक छटाले भरिपूर्ण नेपालको एक धार्मिक पर्यटकीय रमणीय र आनन्दित ठाउँ हो लड्केश्वर महादेव मन्दिर ।

परापूर्वकालमा महादेवले समुद्र मन्थन गर्दा सारा संसारलाई बचाउनका लागि मन्थनबाट निस्किएको विष पिएका थिए । विषले उनलाई डाहा भएपछि शीतल ठाउँको खोजीमा महादेव यहाँको खोला किनारमा आएर बसेको भन्ने मान्यता रहि आएको छ ।

यो मन्दिर काठमाडौँबाट ४० किमीको दूरीमा रहेको बल्थली बनेपा–पनौती–खोपासी हुँदै पुग्न सकिन्छ । काठमाडौँबाट बनेपा, पनौती हुँदै खोपासीसम्म बस चल्छन् । खोपासीबाट, सल्मेटार, न्यौपाने गाउँ हुँदै लड्केश्वर महादेव पुग्न सकिन्छ ।

हेर्नुहोस् तस्बिर:

 



Author
थप समाचार