लाइफलाइन बाटो
वर्षामा मुग्लिनको मुश्किल यात्रा (फोटो फिचर)
फोटो स्रोत : दीपकजंग घिमिरे
काठमाडौँ : महेन्द्र राजमार्ग नेपालको सबैभन्दा लामो र मुख्य राजमार्ग हो । तर महेन्द्र राजमार्गलाई पनि छायाँमा पर्ने नेपालको अर्को सडक हो, नारायणगढ-मुग्लिन सडकखण्ड । नेपाली सञ्चारमाध्यममा प्राय छाइरहने सडकखण्ड पनि हो यो । जहाँ दैनिक जसो कुनै न कुनै दुर्घटना भइरहेका हुन्छन् ।
वर्षामा त झन् यो सडक सधै चर्चामा रहन्छ । सञ्चारमाध्यममा यसको चर्चा जति हुन्छ, त्यति निन्दा पनि । पाइलैपिच्छे यो सडकमा जाने पहिरोले कैयौँको घरबार उजाड पारेको छ । कतिको दिनदशा बिगारेको छ ।
पहिलेको भन्दा यो सडक सुधार गरिएको भएपनि भीरबाट पहिरो झर्ने क्रम रोकिएको छैन् । बिहीबारदेखि यो सडकमा फेरि पहिरो झर्ने क्रम चलिरहेको छ । बिहीबार चार किलोमा गएको पहिरो शुक्रबार भने मुग्लिनका विभिन्न ठाउँमा गएको छ ।
जसले गर्दा चार दिन अघिदेखि काठमाडौँबाट आफ्नो घर जाने र बाहिरबाट काठमाडौँ भित्रिनेको यात्रा लम्बिएको छ । मुग्निलसँगै पूर्व–पश्चिम राजमार्गमा पनि बाढी पहिरोको उस्तै समस्या छ । बुटवल-दाउने-नारायगढ सडकका ठाउँ ठाउँमा निर्माण गर्न लागिएका पुलको डाइभर्सन भत्किदा यात्रा उत्तिकै सास्तीपुर्ण यात्रामा देखिन्छन् ।
पहिरोले गर्दा बाटो अवरुद्ध हुँदा यात्रु फसेका छन् । गाडी रोकिएका छन् । ठूल्ठूला पहाडमा पहिरोले रोकिएका यात्रु भोकभोकै छन् । खाना पाएका छैनन । साथमा बोकेको बिस्कुट बाँडेर उनीहरु भोट टार्ने प्रयासमा छन् ।
काठमाडौँ आउजाउ दुई दिनको यात्रा भएपनि बाढी पहिरोले वितण्डा मच्चाउँदा यात्रु हप्ता दिनसम्म पनि घर पुग्न मुश्किल ठानिरहेका छन् ।
सबै फोटो : दीपकजंग घिमिरे/फेसबुक