फोटो फिचर
खोप लाउन दिनभर घामपानीसँग ज्येष्ठ नागरिकको लुकामारी
काठमाडौँ : मंगलबार काठमाडौँ उपत्यकाको मौसममा दिनभर बदली भइरह्यो । छिनमै घाम लाग्थ्यो त छिनमै पानी पर्थ्यो । यही घामपानीसँग लुकामारी गरिरहेका थिए कोभिडविरुद्धको खोपका लागि लाइनमा बसेका ज्येष्ठ नागरिकहरू । दिनभर लाइनमा बसेर कतिले खोप पाए कतिपय भने खोप नै नलाई फर्किनुपर्यो । उनीहरूले भोलि फेरि लाइनमा बस्नुपर्नेछ ।
कोभिडविरुद्धको खोप भेरोसेलको पहिलो डोज लगाएका करिब ५ लाख व्यक्तिलाई मंगलबारबाट दोश्रो डोज लगाउन सुरु गरिएको हो । भेरोसेलको पहिलो डोज लगाएको चार हप्ता पुगेका ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई मंगलबारबाट दोश्रो डोज दिन सुरु गरिएको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखाले गत २५ जेठ यता पहिलो डोज खोप लगाएका करिब ४ लाख ८० हजार र त्यसअघि नै पहिलो डोज लिई दोस्रो डोज लिन छुटेका करिब २० हजार गरी करिब ५ लाखलाई दोस्रो डोज दिन सुरु गरिएको जनाएको छ ।