भृकुटीमण्डपको ‘पुष्प मेला’मा दुई दिनमै ५८ लाखको फूल कारोबार

काठमाडौँ- भृकुटी मण्डपमा २६ औँ फ्लोरा एक्स्पो २०८१ मेला लागिरहेको छ । १ देखि ४ गतेसम्म फ्लोरी कल्चर एशोशिएसन नेपाल ललितपुर आयोजना तथा बागमती प्रदेश सरकार कृषि तथा पशुपन्क्षी मन्त्रालयको सहयोगमा उक्त मेला लागेको हो ।
फूल प्रदर्शनीमा आएका जेबी तामाङ्का अनुसारमा हिजोसम्म ३१ हजारले फूलहरूको अवलोकन गरिसकेका छन् । यहाँ पाँच सय प्रजातिका फूलहरू पाइन्छन् । विदेशबाट आयात गरिएका फूलका बिउँहरू छन् ।
‘अहिलेसम्म यस फूल मेलामा ५८ लाख रुपैयाँ बराबरको कारोबार भइसकेको छ,’ उनले भने ।
पुष्प व्यवसायको विकास, विस्तार तथा प्रवर्द्धनको लागि एशोसिएशनले हरेक वर्ष क्षेत्रीय तथा राष्ट्रियस्तरको पुष्प मेला–प्रदर्शनीको आयोजना गर्दै आइरहेको छ । यस वर्षको एक्सपोको नारा ‘स्वच्छ वातावरण तथा आर्थिक समृद्धिका लागि पुष्प व्यवसाय’ रहेको फ्लोरिकल्चर एशोसिएशनले जनाएको छ ।
२६ औँ फ्लोरा एक्स्पोमा व्यावसायिक तथा अफिसियल स्टलसहित ८२ वटा स्टल रहेका छन् । मेलामा पुष्प व्यवसायीहरूद्वारा उत्पादित फूल बिरुवाहरूको विभिन्न विधाहरूमा उत्कृष्ट स्टल, उत्कृष्ट ल्याण्डस्केपिन्न, उत्कृष्ट मौसमी फूल, उत्कृष्ट आलंकारिक बिरुवा, उत्कृष्ट आलंकारिक फुल्ने बिरुवा, उत्कृष्ट पुष्प सजावट, उत्कृष्ट कट फ्लावर (गुलाब, जरबेरा र कार्नेशन) स्वच्छ प्रतिस्पर्धा गराइने छ ।
सोको मुल्याङ्कन सम्बन्धित क्षेत्रका विज्ञ प्राविधिकद्वारा हुने आयोजकले बताएको छ । पुष्प मेलामा पुष्प नर्सरी, पुष्प फर्म, पुष्प तथा पुष्पजन्य आपूर्तिकर्ता कम्पनीहरु, व्यवसायीहरू तथा विभिन्न संघ संस्थाहरूको सहभागिता रहने छ ।