फोटो फिचर
गाइजात्रा: तस्बिरमा हेर्नुहोस् बसन्तपुरको दृष्य
काठमाडौँ - प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म मनाइने परम्परागत सांस्कृतिक पर्व ‘गाईजात्रा’आज (सोमबार)देखि विभिन्न कार्यक्रमगरी देशभर मनाइँदै छ। यही वर्ष दिवङ्गत भएका आफन्तको पुण्यको कामना गर्दै आज गाईजात्रा पर्व मनाइँन्छ। एक वर्षभित्र दिवंगत भएका आफन्तको सम्झनामा आजका दिन गाई वा मानिसलाई गाईका रूपमा सिँगारी आ–आफ्ना क्षेत्रमा परिक्रमा गराउने र उनीहरूलाई दूध, फलफूल, रोटी, चिउरा, दहीका साथै अन्न र द्रव्य दान गर्ने परम्परा रहेको छ।
यसरी नगरपरिक्रमा गर्नाले वर्षभरी मृत्यु भएका व्यक्तिहरू पार हुन्छन् भन्ने धार्मिक विश्वास छ। विशेष गरी नेवार समुदायमा मृतकको स्मृतिमा निकै श्रद्वाका साथ गाईजात्रा मनाउने प्रचलन छ। यद्यपि विश्वव्यापी रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर यस वर्षका चाडपर्व औपचारिकतामा सीमित रहेर मनाउनुपर्ने बाध्यता छ ।