प्रवास

आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोग गरेर नेपालको विकासमा सहयोग गरौँ : राष्ट्रपति पौडेल

इकागज |
असार ३, २०८१ सोमबार ७:२३ बजे

जर्मनी- मित्रराष्ट्र जर्मनीको भ्रमणमा रहेका राष्ट्रपति रामचन्द्र पौडेलको सम्मानमा जर्मनीको वर्लिनस्थित नेपाली राजदूतावासले आाइतबार विशेष स्वागत गरेको छ ।

राष्ट्रपति पौडेलको  सम्मानमा आयोजित सो समारोहमा प्रथम महिला सविता पौडेल, भ्रमण दलका सदस्य र यहाँस्थित नेपालीहरूको सहभागिता थियो । सो अवसरमा राष्ट्रपति पौडेललाई जर्मनका लागि नेपालका राजदूत रामकाजी खड्का तथा नेपालीहरूले स्वागत गरेका थिए । 


राष्ट्रपति पौडेलले एकचोटीको नेपाली सधैंको नेपाली रहेको धारणा व्यक्त  गर्दै संसारमा जहा रहेपनि आफ्नो माटो र मातृभूमिलाई कहिल्यै नबिर्सन आग्रह गरे ।

'जहाँ रहेपनि आफूले सिकेको ज्ञान, सीप र प्रविधिको प्रयोगबाट नेपालको आर्थिक विकासमा योगदान पुर्‍याउन म सबै नेपालीलाई हार्दिक आव्हान गर्दछु', राष्ट्रपति पौडेलले भने ।

उनले आफूले अन्तर्राष्ट्रिय श्रम संगठनको सम्मेलनलाई सम्बोधन गर्दै श्रम र सामाजिक न्यायको सम्मानका लागि विश्व समुदायलाई अपिल गरेको स्मरण गरे । उनले जलवायु परिवर्तनले पारेको असर न्युनिकरण गर्नु आजको विश्वको साझा चुनौति रहेको बताउँदै खासगरी यसका कारक नरहेका विकासशील देशहरूलाई विकसित देशहरूले असर न्यूनीकरणमा सघाउनु पर्नेमा जोड दिए ।

सो अवसरमा राजदूत खड्काले जर्मन  नेपालबीच लामो समयदेखिको सम्बन्ध, विकास र सहयोगका बहुआयामिक पक्षबारे जानकारी गराएका थिए ।

साथै,जर्मनमा रहेका नेपालीको अवस्था, उनीहरूले गरिरहेका काम तथा समस्या र राजदूतावासले गरिरहेको सहकार्य र समन्वयबारे जानकारी गराउनुभएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । सो अवसरमा जर्मनमा रहेको गैरआवासीय नेपाली संघका तर्फका राष्ट्रपति पौडेललाई अभिनन्दन गरिएको थियो ।

राष्ट्रपति रामचन्द्र पौडेलले यसअघि आइतबार दिउँसो जर्मनीका जलवायु परिवर्तनका क्षेत्रमा विज्ञान प्रविधि तथा अनुसन्धान गर्दै आइरहेका संस्थाहरूको अवलोकन गरेका थिए ।

राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका थिए ।

जर्मनीका राष्ट्रपतिको मैत्रीपूर्ण निमन्त्रणामा  राष्ट्रपति पौडेल स्वीट्जरल्याण्डको भ्रमण सकेर शनिबार राति जर्मनीको राजधानी बर्लिन आइपुगेका थिए ।

राष्ट्रपति पौडेल र उनका समकक्षी सङघीय गणतन्त्र जर्मनीका राष्ट्रपति डा फरयाङक वाल्टर स्टाइनमेयर बीच साेमबार भेटवार्ता हुने कार्यक्रम छ ।


Author

थप समाचार
x