शिक्षा

कृषिका विद्यार्थीलाई पशुको प्रश्नपत्र

इकागज |
असार ४, २०८१ मंगलबार १४:० बजे

फाइल फोटो

सिरहा - सिरहामा संचालन भइरहेको प्राविधिक तथा व्यवसायिक शिक्षा एवम् तालिम परिषद् (सीटीईभीटी) अन्तर्गत डिप्लोमा तहको परीक्षामा केन्द्राध्यक्ष कै लापरबाहीले सहभागी परीक्षार्थीहरू मर्कामा परेका छन्।

जिल्लाको गोलबजारस्थित रामप्रताप राप्रसाद तामङ्ग जनता बहुमुखी क्याम्पस केन्द्रमा सञ्चालित डिप्लोमाको परीक्षामा सोही क्याम्पसका प्रमुख किशोर कुमार साहकै लापरबाहीले पशु विज्ञानका विद्यार्थीलाई कृषिको प्रश्नपत्रमा परीक्षा दिन लगाएपछि परीक्षार्थीहरू मर्कामा परेका हुन्। 


परीक्षार्थीहरूले परीक्षा सके पछिमात्र आफूहरूसँग भएको प्रश्नपत्र राम्रोसँग हेर्दा कृषि विज्ञानको प्रश्नपत्र परेको थाहा पाएको बताए। उनीहरुले भने, ‘छोटो समय भएकाले हामी प्रश्नपत्र पाउनासाथ लेख्ने ध्याउन्नमा लाग्यौं। बीच बीचमा असहज भइरहेको थियो।

परीक्षा सकेर प्रश्नपत्र नियाल्दा हामी पशुका विद्यार्थीका हातमा कृषिका प्रश्नपत्र रहेछ। त्यसपछि हाम्रो होसहवास् नै उड्यो।’

केन्द्रमा खटिएका शिक्षकहरूलाई देखाउँदा उनीहरुले पहिला किन नदेखाएको भन्दै हप्की दप्की गरे।  पछि केन्द्राध्यक्ष साहले हाम्रो मान्छे माथि परीक्षा केन्द्रमा छ। सबै मिलिहाल्छ। तिमीहरूले चिन्ता लिनुपर्दैन, भन्दै घर जान भनेको परीक्षार्थीहरूले बताए। 

केन्द्राध्यक्ष र परीक्षामा खटिएका सीटीईभीटीका प्रतिनिधिले आश्वासन दिए पनि परीक्षार्थीहरू ढुक्क हुन सकेका छैनन्। उनीहरू एक वर्ष खेर जाने हो की भन्ने चिन्तामा छन्।  

सरस्वती माध्यमिक विद्यालय गोलबजार ३ का प्राविधिक तर्फका संयोजक समेत रहेका डाक्टर ओम प्रकाश साहले परीक्षा सञ्चालकको लापरबाहीले आफ्नो विद्यार्थीको भविष्यमाथि खेलवाड भएको बताए। उनले भने, ‘विषय नै फरक भएकाले कसरी कपी काटिन्छ? थाहा छैन। तर, यो उहाँहरूको ठूलो गल्ती हो।’

आज सम्पन्न परीक्षामा डिप्लोमा इन एनिमल साइन्सका विद्यार्थीलाई एग्रिकल्चर विषयको प्रश्नपत्र पर्न गएको परीक्षा केन्द्राध्यक्ष किशोर कुमार साहले बताए। उनले भुलबस पर्न गएको भएपनि त्यस विषयमा माथि छलफल भइरहेको बताए। 

‘खासमा हाम्रो जिम्मेवारी भनेको मर्यादित परीक्षा लिने र ठाउँ उपलब्ध गराउने हो। प्रश्नपत्र, उत्तरपुस्तिका ल्याउने लाने सबै सीटीईभीटीका प्रतिनिधिहरूले गरिरहनु भएको छ, उनले भने 'एउटै जस्तो लाग्ने विषय भएकाले भुलबस प्रश्नपत्र तलमाथि परेको रहेछ। हामीले माथि कुरा गरिरहेका छौं। विद्यार्थीलाई मर्का पर्दैन।’

कृषि तर्फमा परीक्षार्थीको प्रश्न पत्र कम भएपछि उनीहरुलाई फोटो कपी गरेर दिइएको थियो। फोटोकपी गर्दा लागेको समय थप गरेर परीक्षा लिएको जनाइएको छ। 

यता सीटीईभीटीका प्रतिनिधिका रुपमा आएका बाह्य सुपरिवेक्षक भोला राय यादव र सुजित रायले माथि कुरा भइसकेको र मुचुल्का उठाएर पठाउँदै गरेको बताए । सबैथोक उत्तैबाट हुने भन्दै उनीहरूले थप प्रतिक्रिया दिन चाहेनन्। 

जिल्लाको जनता माध्यमिक विद्यालय, धनगढीमाई ५ तीनकोनी, जय गोविन्द साह टेक्निकल इन्सिच्युट गोलबजार, सरस्वती माध्यमिक विद्यालय गोलबजार ३ सहित ४ वटा विद्यालयको यस परीक्षा केन्द्रमा परीक्षा भइरहेको छ।


Author

थप समाचार
x