जात्रा-पर्व

रातो मच्छिन्द्रनाथ रथजात्रा: रथको टुप्पोमा पुगेर नरिवल खसालियो

इकागज |
जेठ ९, २०८१ बुधबार २०:२:३० बजे

फाइल फाेटाे

काठमाडौँ - रातो मच्छिन्द्रनाथ रथजात्राअन्तर्गत बुधबार ललितपुरको लगनखेलस्थित थतिटोलमा नरिवल खसाल्ने जात्रा सम्पन्न भएको छ । 

मच्छिन्द्रनाथको रथ लगनखेल पुगेको केही दिनपछि रथ निर्मातामध्ये ज्येष्ठ व्यक्तिले रथको टुप्पोमा पुगेर नरिवल खसाल्ने चलन छ । रथलाई तान्दै लगनखेल पुर्याएपछि खुसीयालीमा रथको माथिबाट नरिवल खसाल्न थालिएको मान्यता रहिआएको छ ।


नरिवल खसाल्ने दिनलाई पाटनवासीले उत्सवको रूपमा लिन्छन् । किंवदन्ती अनुसार रथमाथिबाट खसालिएको नरिवल समात्ने व्यक्तिको पहिलो सन्तानको रूपमा छोरा जन्मिन्छ भन्ने मान्यता छ ।

थतिटोलमा नरिवल खसाल्ने जात्रा मनाएपछि भोलिपल्ट बिहान महिलाहरूले रथ तान्ने परम्परा छ । नरिवल खसाल्ने जात्रा सकिएको केही दिनपछि ज्योतिषले रातो मत्स्येन्द्रनाथलाई जावलाखेल लैजाने साइत हेर्ने परम्परा छ ।

मणिमण्डपस्थित सोह्रखुट्टे पाटीमा बसी मत्स्येन्द्रनाथका ज्योतिषले जावलाखेल लैजाने साइत निकाल्ने गर्छन् । रथ जावलाखेल पुगेको चार दिनपछि भोटो जात्रा मनाइन्छ । जावलाखेलमा भोटो देखाएपछि मत्स्येन्द्रनाथको जात्रा सम्पन्न हुन्छ । 


Author

थप समाचार
x