अर्थ / बाणिज्य

विश्व बजारका लागि पनि नेपाल लगानीको उत्कृष्ट गन्तव्य हो : चेम्बर अध्यक्ष अग्रवाल

इकागज |
बैशाख १६, २०८१ आइतबार १५:२० बजे

काठमाडौँ- नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालले नेपाल अन्तर्राष्ट्रिय लगानीका लागि उत्कृष्ट गन्तव्य रहेको बताएका छन् । 

काठमाडौँमा आज सुरु इमर्जिङ नेपाल इन्भेस्टमेन्ट समिटको उद्घाटन सत्रलाई सम्बोधन गर्दै अध्यक्ष अग्रवालले विश्वको तुलनामा सस्तो श्रमशक्ति, छिमेकी भारत र चीनको उपभोक्ता बजार लगायतका कारणले नेपाल विश्वकै उत्कृष्ट गन्तव्य रहेको बताएका हुन् ।


अध्यक्ष अग्रवालले भने, ‘नेपालमा ५७ प्रतिशत जनसंख्या सक्रिय श्रममा रहेको तथ्याङ्क छ, श्रम लागत पनि निकै सस्तो छ । यहाँ लगानी मार्फत उत्पादन भएका वस्तुहरूलाई  विश्वका झण्डै ३ अर्ब जनसंख्या रहेका छिमेकी भारत र चीनको बजारमा पुर्याउन सकिन्छ ।’

आजको युगमा आर्थिक विकास र समृद्धिको यात्रामा एक्लै हिँड्न नसकिने भन्दै अध्यक्ष अग्रवालले संयुक्त लगानीका लागि आव्हान समेत गरे । लगानीको सुनिश्चितताका लागि सरकारले कानुनी वातावरण बनाएको अध्यक्ष अग्रवालको भनाई छ ।

नेपालमा पर्यटन, जलविद्युत, पूर्वाधार र सूचना प्रविधिको क्षेत्रमा लगानीका लागि अध्यक्ष अग्रवालले अन्तराष्ट्रिय लगानीकर्तालाई आव्हान गरे । 

विदेशी लगानीकर्तालाई प्रतिफल सुनिश्चित गर्न कानुनी वातावरणसंगै लाभयुक्त परियोजनाहरू छनोट गरेको अग्रवालले बताए । उनले भने, ‘अन्तर्राष्ट्रिय लगानीकर्ताका लागि सहज आवागमन, प्रतिफलको सुनिश्चितता र सहज बहिर्गमनको व्यवस्था एकद्वार नीतिबाटै गरिएको छ, ।’ 

काठमाडौँमा भइरहेको तेस्रो अन्तर्राष्ट्रिय सम्मेलनले अर्थतन्त्रमा दीर्घकालीन महत्व राख्ने उनले बताए । लगानी सम्मेलनमा प्राथमिकताका क्षेत्रसहित लगानीको आव्हान गरिएको र निजी क्षेत्र पनि साथै रहेकाले सम्मेलन फलदायी हुने अध्यक्ष अग्रवालले बताए ।

अन्तर्राष्ट्रिय लगानी सम्मेलनमा चेम्बर अफ कमर्सका तर्फबाट करिब १ दर्जन आयोजनालाई सोकेसका रूपमा राखिएको छ । 


Author

थप समाचार
x