दल

सर्वोच्चमा रञ्‍जिताको जवाफ : रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले पार्टीको अध्यक्ष बन्‍न अयोग्य

इकागज |
बैशाख ११, २०८१ मंगलबार १८:७ बजे

तस्विरः फाइल फोटो

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) की अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरी हत्या मुद्दामा दोषी ठहर भएकाले आफ्नो पार्टीको अध्यक्ष बन्न अयोग्य रहेको जवाफ सर्वोच्च अदालतलाई दिएकी छन् ।

निर्वाचन आयोगले फागुन २४ गते नाउपा अध्यक्ष रेशम चौधरी रहेको विवरण अद्यावधिक गर्न अस्वीकार गरेको थियो । त्यस्तै रेशम आयोजक समिति अध्यक्ष भएर गरेको महाधिवेशन पनि स्वीकार गरेको थिएन । 


उक्त निर्णयविरुद्ध रेशमले सर्वोच्च अदालतमा रिट दिएका थिए । उनले आफूलाई अध्यक्ष बनाउन माग गर्दै दिएको रिटमा सर्वोच्च अदालतले मागअनुसारको आदेश किन जारी नगर्ने भन्ने कुराको लिखित जवाफ बुझाउन विपक्षीहरूलाई आदेश दिएको थियो । 

सर्वोच्चलाई लिखित जवाफ दिँदै रञ्जिताले टीकापुर प्रकरणमा व्यक्ति हत्याको अभियोगमा दोषी ठहर भएकाले उनको माग बदरभागी रहेको जिकिर गरेकी हुन् । 

कानुनले नैतिक पतन देखिने फौजदारी अभियोगमा दोषी ठहर भएर सजाय पाएका व्यक्तिलाई राजनीतिक दलको अध्यक्ष हुन रोकेको रञ्जिताको भनाइ छ । 

रेशमले भने आफूलाई सजाय सुनाउँदा अदालतले 'नैतिक पतन देखिने' भन्ने कुरा नै उल्लेख नगरेकाले पार्टी अध्यक्ष बन्नबाट आयोगले रोक्न नपाउने जिकिर गरेका छन् । निर्वाचन आयोगले आफै नैतिक पतन मानी निर्णय गर्न नमिल्ने रेशमको तर्क थियो ।

रञ्जिताले भने रेशमको कार्य नैतिकवान र सभ्य थियो भन्न नमिल्ने जवाफ दिएकी छन् ।  

'अदालतले फौजदारी मुद्दा फैसला गर्दा नै विपक्षीले सभ्य समाजको अपेक्षा र मानवीय चेतनाविरुद्ध अत्यन्त अमानवीय क्रूर र निर्मम ढंगले ज्यान मारेको भन्ने उल्लेख गरेको छ । ज्यान मार्ने सबै कार्य र जन्म कैद हुने सबै कार्य नैतिक पतन देखिने फौजदारी अपराध नहुन सक्छ तर अदालतले फैसला गर्दा उल्लेख गरेको व्यहोराबाट निजको कार्य नैतिकवान वा सभ्य थियो भन्न मिल्दैन,' उनको जवाफमा उल्लेख छ, 'नैतिकता भित्र कुन तरिकाले कसरी मानिसको हत्या भएको छ भन्ने कुरालाई नहेरी निरपेक्ष रूपमा विपक्षीले उल्लेख गर्दैमा सो कुरालाई (नैतिक पतन नभएको) मान्न मिल्दैन ।’ 

वरिपरि भिड जम्मा गरी आत्मसमर्पण गरेको अर्थात् अपहरणमा परेको व्यक्तिहरूलाई रेशमको आदेशमा हत्या भएको भन्ने कुरा रञ्जिताले लिखित जवाफ मार्फत अदालतलाई सम्झाएकी छन् । नैतिक पतन नै नमान्ने हो भने पनि राजनैतिक दलसम्बन्धी ऐनले दलको सदस्यता हुन समेत नदिने रञ्जिताको जिकिर छ ।

‘अपहरणमा परेका अर्थात् आत्मसमर्पण गरेको प्रहरीदेखि अबोध बालकलाई हत्या गर्ने व्यक्तिको अमानवीय तवरले हत्या गरेको कार्य नैतिक पतन नभएको अवस्थामा समेत राजनैतिक दलसम्बन्धी ऐनको दफा १४ ले दलको सदस्यको लागि अयोग्य मान्ने कुरा र पार्टी विधानको आधारमा निर्वाचन आयोगले विपक्षी पार्टी सदस्य हुन समेत अयोग्य रहेको भनी गरेको निर्णयमा कुनै कानुनी त्रुटि नभएको हुँदा विपक्षीको रिट खारेजभागी छ,’ उनले जवाफमा भनेकी छन् ।

रञ्जिताले पार्टीको विधानअनुसार पनि रेशम नाउपा अध्यक्ष बन्न नसक्ने बताएकी छन् । उनले जवाफमा पार्टीको विधानको धारा ९ को व्यवस्था समावेश गरेकी छन् । नाउपाको विधानको धारा ९ मा नैतिक पतन देखिने कसुरमा अन्तिम अदालतबाट दोषी ठहर भएमा पार्टीको सदस्यता नरहने व्यवस्था छ ।

त्यस्तै विधानको धारा १२ को व्यवस्था पनि जवाफमा समावेश गरेकी छन् । धारा १२ मा पार्टीको संगठित सदस्यमात्रै पार्टीको प्रतिनिधि रहन पाउने बताएकी छन् ।


Author

थप समाचार
x