दल

पार्टीभित्र विचारको कुनै मतभेद छैन : माधव नेपाल

इकागज |
असार ३, २०८१ सोमबार १४:२२ बजे

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन् ।

सोमबार काठमाडौँमा अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका हुन् । समाजवादलाई अघि बढाउने उद्देश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवाद उन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको धारणा राखे ।


उनले महाधिवेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे । अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधानअनुसारको संरचनाबाट केही विकृतिहरू पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले आफूहरूसँग विचार मिल्ने र सहकार्य गर्न चाहनेहरूलाई साथ-साथ लिएर अघि बढ्न चाहेको र त्यसका लागि सक्दो पहलकदमी लिँदै आएको जिकिर गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने धारणा राखे । उनले महाधिवेशनमा पार्टीको विभिन्न दस्तावेजहरूलाई परिष्कृत गर्दै पारित गर्ने दाबी गरे । उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए ।

उनले श्रमजीवी महिलाहरूसँग पार्टी पुर्याउन नसके कुनै पनि क्रान्ति सम्भव नरहेको बताए । 


Author

थप समाचार
x