दल

सरकारको भविष्यबारे चिन्ता गर्नुपर्ने बेला भएको छैन : महासचिव पोखरेल

इकागज |
असार ३, २०८१ सोमबार १८:२३ बजे

धादिङ- नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको भविष्यबारेमा चिन्ता गर्नुपर्ने अवस्था नरहेको बताएका छन् । उनले सत्ता समीकरणमा रहेका एमालेलगायतका सबै दल यही सरकारलाई निरन्तरता दिने पक्षमा रहेको बताए ।

प्रेस चौतारी नेपाल धादिङले आज यहाँ आयोजना गरेको पत्रकार भेटघाटका क्रममा महासचिव पोखरेलले मुलुकलाई सकारात्मक दिशातर्फ अगाडि बढाउन एमालेले यही सरकारलाई निरन्तरता दिने धारणा व्यक्त गरे । उनले भने, 'वर्तमान समीकरणबाट मुलुकलाई सकारात्मक दिशामा अघि बढाउन सकिन्छ भन्ने हाम्रो प्रयास हो । त्यहीअन्तर्गत नयाँ समीकरण बनायौँ अहिले पनि हामी यो समीकरणको निरन्तरताका पक्षमा छौँ ।' महासचिव पोखरेल एमाले जिल्ला कमिटी धादिङको तीनदिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्न धादिङबेंसी आइपुगेका हुन् । 


सरकार कमजोर बन्यो भने जनतामा निराशा बढ्छ कि भन्ने चिन्ता भए पनि सरकारको भविष्य के होला भन्ने चिन्ता लिनुपर्ने समय आइनसकेको एमाले महासचिव पोखरेलको भनाइ छ । सरकारले राम्रो काम गरोस्, जनता अपेक्षालाई सम्बोधन गरोस्, सुशासन दिन सफल होस्, जनताका मुद्दातर्फ ध्यान केन्द्रित होस्, अरू कुरामा विरोध जनाउनुपर्ने र सरकार परिवर्तन गरिहाल्नुपर्ने अवस्था नरहेको पोखरेलको भनाइ छ । 

'कमी कमजोरी भएका भएका विषयलाई सच्याएर अघि नबढ्दा २०८४ सम्म जनतामा निराशा छाउने पो हो कि भन्ने चिन्ता एमालेमा छ । यसको विकल्पमा अरूको खोजी चाहिँ होइन,' उनले भने, 'अर्काे समीकरणको खोजी गर्नुपर्छ भन्ने खालको बुझाइ होइन ।'


Author

थप समाचार
x