समाज

सडक डिभिजनले भन्यो- काठमाडौँ महानगरको बलमिच्याइँ र अराजक व्यवहार सह्य हुँदैन

इकागज |
जेठ १२, २०८१ शनिबार २१:५५ बजे

काठमाडौँ- शनिबार साँझ करिब ५ बजे सडक डिभिजन काठमाडौँको मिनभवनस्थित कार्यालयको गेटमा काठमाडौँ महानगरपालिकाको मिनी टिप्परबाट कार्यालय परिसर छिर्न समेत अवरोध हुने गरी फोहोर फालिएको विषयले सडक डिभिजन काठमाडौँको गम्भीर ध्यानाकर्षण भएको छ ।

काठमाडौँ जिल्लाभित्रका सडक निर्माण तथा मर्मत सम्भारको महत्वपूर्ण जिम्मेवारी पाएको यस सडक डिभिजनको गेटमा देशकै ठूलो तथा जिम्मेवार स्थानीय सरकारबाट कानुनी राज्यको उपहास हुने गरी बलमिच्याइँ तथा अराजक शैलीबाट भएको यस किसिमको व्यवहारले महानगरको गरिमा कदापि नबढ्ने विषय छर्लङ्ग भएको सडक डिभिजनले जनाएको छ ।


शनिबार विज्ञप्ति जारी गर्दै जेठ ११ गते शुक्रबार काठमाडौँ महानगरपालिकाका मेयर तथा यस डिभिजनका डिभिजन प्रमुखबीच महानगरभित्रका सडक सुधारका विविध विषयमा छलफल भई नियम बमोजिम सहकार्य गरेर अगाडि जाने तथा साझा धारणा बनाई महानगरभित्रका सडक सुन्दर तथा व्यवस्थित बनाउने विषयमा छलफल भएको उल्लेख गरेको छ । साथै यसअघि महानगरपालिकाबाट नियमबमोजिम यस डिभिजनमा सडक काट्न माग भई आएका सबै अनुमति दिइएको समेत जानकारी गराइएको विज्ञप्तिमा भनिएको छ ।

'आज मिति २०६१।०२।१२ गते शनिबार करिब १२ बजे न्यूरोड क्षेत्रमा यस डिभिजनको जिम्मामा रहेको सडकमा बिनाअनुमति सडक काटी सडकको standard चौडाइ घटाउने कार्यमा महानगरपालिका लागेको बखत बिनाअनुमति सडक काटेर साँघुरो बनाउन नहुने भनि सडक डिभिजनबाट सो कार्यमा रोक लगाइएको विषयलाई विषयान्तर गरी डिभिजन सँग सरोकार नभएको विषयलाई कारण बनाई गरिएको यस किसिमको व्यवहारले कानुनी राज्यको उपहास गरेको ठम्याई यस सडक डिभिजनको रहेको छ,' सडक डिभिजनले भनेको छ, 'सडक डिभिजन काठमाडौँको कार्य क्षेत्रभित्र भएका त्रुटी औंल्याई आवश्यक सुझाव दिए डिभिजन सकारात्मक सुझाव सम्झेर कार्यान्वयन गर्ने तर डिभिजनको कार्यक्षेत्रसँग सरोकार नभएको विषय उठाई भएका यस किसिमका अराजक व्यवहार आगामी दिनमा किमार्थ सह्य नहुने र सो को प्रतिकार गर्न समेत सडक डिभिजन काठमाडौँ बाध्य हुने व्यहोरा यसै विज्ञप्ति मार्फत जानकारी गराइन्छ ।'

आज शनिबार काठमाडौँ महानगरपालिकाले चक्रपथको कलंकी-महाराजगञ्ज सडक खण्ड निर्माण नहुँदा नागरिकले धुलोको प्रदूषण बेहोर्नुपरेको भन्दै सडक विभाग र डिभिजन सडक कार्यालय काठमाडौँको कार्यालय बाहिरको सडकमा धुलो थुपारिदिएको थियो ।

 

 

र, यो पनि


Author

थप समाचार
x