समाज

झापामा बाढीले १८ घर प्रभावित, नौ परिवारलाई सुरक्षित स्थानान्तरण

इकागज |
असार ४, २०८१ मंगलबार २१:५४ बजे

झापा- सोमबार रातिदेखिको वर्षाका कारण  झापाका विभिन्न स्थानमा १८ भन्दा बढी घर परिवार प्रत्यक्ष प्रभावित भएका छन् । जिल्लाको दक्षिणवर्ती ग्रामीण क्षेत्रका स्थानीय बासिन्दा बढी प्रभावित भएका हुन् । 

कचनकवल–५ खुट्टागञ्जका चार घर परिवार प्रभावित भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार सो ठाउँका कुञ्जी राजवंशीको तीन जनाको परिवार पूर्णरूपमा विस्थापित भएका छन् । उनीहरू स्थानीय प्रभा राजवंशीको घरमा आश्रय लिएर बसेका छन् । 


स्थानीय देवी राजवंशी, कार्तिक राजवंशी र सञ्जय राजवंशीको परिवार डुबानका कारण जोखिममा परेका छन् । त्यसैगरी झापा गाउँपालिका–६ स्थित युवा टोलका चार परिवारलाई सुरक्षित स्थानमा सारिएको छ । शरणामती बजार क्षेत्रबाट १४ किलोमिटर उत्तर पश्चिममा रहेका दिपक आचार्य, सीता दुलाल, प्रदीप सिंह र नवीन बराइलीको परिवारलाई स्थानीय केदार श्रेष्ठको घरमा स्थानान्तरण गरिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । 

वर्षासँगै पहिरो जाँदा अर्जुनधारा–२ लाप्चेटारमा पुष्पा समाल मगरको घरमा क्षति पुगेको छ । सो घरका मानिसहरूलाई सुरक्षित स्थानतर्फ सारिएको नेपाल रेडक्रस सोसाइटी झापाका सभापति लोकराज ढकालले जानकारी दिए । अर्जुनधाराको वडा नं १ मा खानेपानीको मुहानमा क्षति पुगेको छ । वडा नं २ स्थित राते भन्ने ठाउँमा मदन भण्डारी राजमार्ग उत्तरतर्फका १० घर डुबानमा परेका छन् । वडा नं ३ मा सुखानी खोलाको कजवेमा क्षति पुगेपछि आवागमन बन्द भएको रेडक्रस झापाका सभापति ढकालले जानकारी दिए ।


Author

थप समाचार
x