खेलकुद

बुङमति र खोकनामा यल मेयर कम साइकल रेस प्रतियोगिता

नगर प्रमुख भन्छन्- साइकल चलाउने र चलाउन प्रोत्साहित गर्न प्रतियोगिता गर्यौं

इकागज |
जेठ १२, २०८१ शनिबार २१:२४ बजे

ललितपुर- ललितपुर महानगरले आयोजना गरेको यल मेयर कप साइकल रेस प्रतियोगिता सम्पन्न भएको छ । साइकलको प्रयोगको प्रोत्साहित गर्न महानगरले शनिबार (आज) यल मेयर कप साइकल प्रतियोगिता आयोजना गरेको हो ।

महानगरका सांस्कृतिक वडाहरू वडा नं.२१ खोकना र र वडा नंं.२२ बुङमतिमा प्रतियोगिता आयोजना गरिएको हो । साइकल रेस प्रतियोगितामा राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रबाट सहभागी भएका थिए । उक्त प्रतियोगिताको नगर प्रमुख चिरीबाबु महर्जनले उद्घाटन गरे । साइकल संस्कृतिको विकास गर्न महानगरको सांस्कृतिक वडाहरूमा साइकल रेस प्रतियोगिता आयोजना गरेको उनले बताए । उनले भने, ‘साइकल चलाउन प्रोत्साहित गर्न र र साइकल लेनको प्रवर्द्धन गर्न रेस आयोजना गरेका हौं ।’


साइकल लेनको अवधारणा भित्र्याउने महानगर पहिलो स्थानीय तह भएको दाबी गर्दै उनले भने, ‘हामीले साइकल लेन बनाएपछि हाम्रो पालिकामा साइकल चलाउनेको संख्या ह्वात्तै बढेको छ, साइकल चलाउने दिदीबहिनीको संख्या पनि बढेको छ ।’ महानगरले नेपाल साइकल सोसाइटीसँग सहकार्य गरी प्रतियोगिता आयोजना गरेको हो । 

साइकल रेस प्रतियोगिताको पुरस्कार वितरण सत्रमा  विजेतालाई पुरस्कार दिँदै आर्थिक विकास समितिका संयोजक तथा वडा नं.२१ का वडा अध्यक्ष रविन्द्र महर्जनले महानगरको सांस्कृतिक वडामा साइकल रेस प्रतियोगिता आयोजना गर्दा यहाँको सांस्कृतिक पक्ष उजागर गर्न मद्दत पुग्ने बताए । उनले भने, ‘आजको यो कार्यक्रमले हाम्रा यी वडाहरूको सांस्कृतिक पक्षलाई बाहिर ल्याउन सहयोग गरेको छ ।’ साइक्लिङ र संस्कृति प्रवर्द्धन गर्न यस्ता प्रतियोगिताको भूमिका महत्वपूर्ण हुने बताए । आन्तरिक पर्यटन प्रवर्द्धनका लागि पनि यस्ता प्रतियोगिता आवश्यक भएको उनको भनाइ थियो ।  

वडा नंं २२ बुङमतिका अध्यक्ष सागर तुलाधरले साइक्लिङले व्यक्तिलाई आत्मनिर्भर बनाएको बताए । उनले भने, ‘मेरो वडामा ५७ वर्ष व्यक्तिले पनि साइकल सिकेर चलाउनु भएको छ, व्यवसायीले साइकल चलाउन थाल्नु भएको छ, जागिरमा जानेले साइकल चलाउन थाल्नु भएको छ ।’ साइक्लिङ स्वास्थ्यका लागि समेत राम्रो भएको बताए । उनले खोकना र बुङमति महानगरको सांस्कृतिक वडामध्येका वडा भएको बताउँदै विशेषतायुक्त यी वडामा यो प्रतियोगिता राखेको धन्यवाद दिए ।


Author

थप समाचार
x