खेलकुद

खेलकुदलाई कुनै पनि संघले बन्धक बनाएर राख्‍न पाउँदैन : मन्त्री श्रेष्ठ

इकागज |
जेठ २२, २०८१ मंगलबार १७:३८ बजे

काठमाडौँ- खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले खेलकुदलाई कुनै पनि संघले बन्धक बनाएर राख्न नपाउने बताएका छन् ।

मंगलबार काठमाडौँमा राष्ट्रिय खेलकुद परिषद् तथा राष्ट्रिय खेल संघद्वारा सञ्चालन गरिने आर्थिक आर्थिक वर्षको कार्यक्रम तालिका सार्वजनिक गर्दै मन्त्री श्रेष्ठले कुनै काम नगर्ने तर संघको नाममा खेलकुदलाई बन्धक बनाउनेलाई कारबाही गर्ने चेतावनी समेत दिए । उनले खेलकुदका कार्यक्रम आयोजना नगर्ने संघको कुनै औचित्य नरहेको भन्दै आफूले यस विषयमा अप्रिय निर्णय लिनुपर्ने अवस्था आउन सक्ने उल्लेख गरे ।


संघमा कुनै समस्या देखिए त्यसलाई समाधान गर्न आफू तयार रहेको उनको भनाइ छ । यसपटक खेलकुद क्षेत्रको बजेट बढेर आएको र सरकारले पनि ८० वटा खेलको आयोजना गर्ने महत्वाकांक्षी संकल्प लिएको उनले जानकारी दिए । मन्त्री श्रेष्ठले खेलको क्यालेण्डर सार्वजनिक भएसंगै आफ्नो पहिलो निर्णय कार्यान्वयनमा आएको भन्दै खुसी व्यक्त गरे ।

त्यस्तै राखेप सदस्य सचिव टंकलाल घिसिङले सरकारको अग्रसरताका कारण पारदर्शी ढंगले खेलकुदको क्यालेण्डर बनाउन सफल भएको भन्दै यसलाई कार्यान्वयनमा लगिने बताए । उनले खेलकुद संघलाई क्रियाशील बनाउनका लागि राखेपले आवश्यक सहजीकरण गरे ।

राखेपले सार्वजनिक गरेको कार्यक्रम अनुसार आगामी आर्थिक वर्षमा राखेपले ११ बटा कार्यक्रम गर्नेछ भने ३५ वटा राष्ट्रिय खेल संघमार्फत ६८ वटा अन्तर्राष्ट्रिय कार्यक्रमहरू आयोजना हुनेछन् । त्यस्तै ४१ वटा राष्ट्रिय खेलकुद संघहरूमार्फत १ सय २२ वटा राष्ट्रिय कार्यक्रमहरू आयोजना हुने राखेपले जनाएको छ ।  


Author

थप समाचार
x