प्रवास

भूतपूर्व गोर्खाहरूको माग सम्बोधन गर्न लन्डनमा बैठक

इकागज |
कात्तिक १८, २०७९ शुक्रबार ११:४६ बजे

लन्डन- भूतपूर्व गोर्खा सैनिकहरूको माग सम्बोधन गर्न बेलायतको लण्डनमा पहिलो बैठक सम्पन्न भएको छ । 

बिहीबार बसेको बैठकमा नेपालको तर्फबाट बेलायतको लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्य, भूतपूर्व गोर्खाहरूको तर्फबाट अवकासप्राप्त मेजर जुद्धबहादुर गुरुङ र बेलायतको तर्फबाट बेलायती रक्षा मन्त्रालयका रक्षा राज्यमन्त्री डा. एन्ड्रिउ मरिसन सहभागी रहेका थिए । 


‘वैठकमा नेपाल सरकारको तर्फबाट राजदूत ज्ञानचन्द्र आचार्यले भूपू गोर्खाका लागि ब्रिटिश सैनिकसरह समान पेन्सन, पूरक पेन्सन, अङ्गभङ्ग भएका मृतकको परिवारका लागि एकमुष्ट भुक्तानी, कल्याणकारी कार्यहरू लगायत समाधान गर्न बाँकी रहेका मागहरूका बारेमा आफ्नो धारणा राख्नुभयो,’ बैठकपछि बेलायतस्थित नेपाली दूतावासले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

बैठकमा भूपू गोर्खाहरूको तर्फबाट जुदबहादुर गुरुङ्गले आफ्ना मागहरूका विषयमा थप स्पष्ट पारेका थिए । 

बेलायत सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीले आफूले यी विषयमा विस्तृत अध्ययन तथा परामर्श गरी पुनः अर्को बैठकमा छलफल गर्ने आश्वासन दिएका थिए । 

बैठकमा नेपाल सरकारका तर्फबाट राजदूत आचार्यसहित नेपाली दूतावासका उप–नियोग प्रमुख रोशन खनाल, सैनिक सहचारी महासेनानी रत्न बहादुर गोदार तथा भूतपूर्व गोर्खाहरूको तर्फबाट पुष्पा राणा घले, धनबहादुर गुरुङ्ग तथा बेलायतको सरकारको तर्फबाट रक्षा राज्यमन्त्रीसहित रक्षा मन्त्रालय एवं अन्तर्गतका बिभिन्न पदाधिकारीहरू सहभागी थिए । 


Author

थप समाचार
x