प्रवास

एनआरएनका युवा उपाध्यक्ष गुरुङ भन्छन्- एक पटकको नेपाली सधैँका लागि नेपाली हुनुपर्छ

इकागज |
मंसिर २३, २०७९ शुक्रबार १२:३० बजे

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको नागरिकता विवादलाई लिएर चर्को बहस भइरहेको छ। लामिछानेले अमेरिकाको नागरिकता नत्यागेका कारण उम्मेदवारी नै खारेज हुनुपर्ने भन्दै मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनमा उजुरी परेको थियो । उनी चितवन-२ बाट निर्वाचित भइसकेका छन् । ​

त्यसैगरी सिन्धुलीको कमलामाई नगरपालिका–१ स्थायी घर भई हाल काठमाडौं बस्ने समाजवादी केन्द्र नेपालका नेता युवराज पौडेल (सफल) ले पनि लामिछानेविरुद्ध आयोगमा उजुरी दर्ता गराएका छन् । नेपाली नागरिकता नभएको विदेशी नागरिकले राजनीतिक दल खोल्ने वा सो दलको साधारण सदस्य नपाउने उल्लेख गर्दै उनले आयोगमा उजुरी दिएका हुन् ।


लामिछानेले त्यागिसकेको नागरिकतालाई आधार बनाएर राहदानी बनाएको भनेर यतिखेर गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयले पनि उनीमाथिको छानबिन प्रक्रिया बढाएको छ । विदेशमा बसेका नेपालीहरू नागरिकताको विषयलाई लिएर सशंकित बनेका छन् । उनीहरू नेपालमा  नागरिकको हैसियतमा ‍ गतिविधि गर्न नपाइने भयले त्रसित बनेका हुन्। नेपाली बन्न संघर्ष गर्नुपर्ने र त्यसका लागि राज्यसँग पुनः आफ्नो पहिचान खोज्न विभिन्न ढंगबाट मेहनत गर्नुपर्ने भन्दै उनीहरू चिन्तित बनेका छन् ।

गैर आवासीय नेपाली संघले नागरिकताको विषयमा आफ्नो स्पष्ट धारणा नराखेको भन्दै सार्वजनिक रुपमा आलोचना भइरहँदा गैर आवासीय नेपाली संघ युवा उपाध्यक्ष हिमाल गुरुङले भने आफ्नो धारणा सार्वजनिक गरेका छन् । एक पटकको नेपाली सधैँका लागि नेपाली भन्ने नारासहित गैर आवासीय नेपाली हुनुपर्ने धारणासहित संघ लागिरहेको गुरुङ बताउँछन् ।

स्वदेशमा गएर केही गर्छु भन्ने विदेशमा बसेका नेपालीहरूलाई सरकारले सहजै काम गर्ने वातावरण बनाइदिनु पर्ने उनको माग छ । नागरिकतालाई कुनै पनि मुद्दा बनाउन नहुने उनको भनाइ छ । ‘स्वदेशमा गएर राजनीतिक, सामाजिक तथा आर्थिक क्षेत्रमा योगदान दिनेलाई सरकारले अवसर प्रदान गर्नुपर्छ,’ गुरुङले भने,’ अहिले पनि स्वदेशमा गएर सामाजिक तथा राजनीति क्रियाकलापमा कतिपय व्यक्तिहरू सहजै सहभागी हुन पाएका छैनन् । नागरिकता सम्बन्धी कानुनका व्यवहारिक पक्षलाई मिलाइ वातावरण सन्तुलन बनाइनु पर्छ ।‘

विदेशमा रहेका ५० लाख नेपालीहरूलाई स्वदेश फर्काएर लगानीको वातावरण बनाउन उपाध्यक्ष गुरुङले माग गरे । नागरिकताको विवाद चर्को रुपमा बढेमा विदेशमा भएका नेपालीहरूले स्वदेशमा लगानी गर्न नमान्ने उनले बताए ।

विदेशमा भएका नेपाली नागरिकहरूले नागरिकताकै कारण स्वदेशमा सामाजिक तथा राजनीतिक गतिविधिमा रोक लगाउन नहुने गुरुङको भनाइ छ । कुनै पनि नेपाली नागरिकले विदेशी नागरिकता त्याग्दा उसलाई चौतर्फी दबाब दिँदा गैरआवासीय नेपालीलाई भविष्यमा असर पर्ने उनले शंका व्यक्त गरे ।

‘विदेशमा रहेका नेपालीले स्वदेशमा केही गर्न चाहेमा नागरिकतालाई मुख्य मुद्दा बनाउन हुँदैन,’ उनी भन्छन्,’ बाध्यताले मुलुक छाडेकालाई स्वदेशमा केही गर्न अवसर दिनुपर्छ । एक पटक नागरिकता लिइसकेकालाई पुनः नागरिकताको विषय झिकेर कसैलाई अप्ठयारोमा पार्नु हुँदैन ।‘

नागरिकताको विषयले लिएर नेपालमा विवाद बढ्दा गैर आवासीय नेपालीहरू स्वदेशमा लगानी गर्नबाट पन्छिने हुन कि भन्ने आशंका उब्जिएको उनी सुनाउँछन् ।

‘मुलुकमा विदेशी लगानी कम र विदेशी मुद्रा कम हुँदा विदेशमा भएका नेपालीलाई लगानीमा थप प्रोत्साहन गर्नुपर्छ,’ उनी थप्छन्,’ सरकारले नागरिकतासम्बन्धी चाँडै कानुन बनाएर समाधानको उपाय खोज्नुपर्छ ।‘


Author

थप समाचार
x